संक्रमण बढेपछि राजधानीमा सुरक्षाकर्मीको संख्या घटाउदै सरकार

काठमाडौ, जेठ ७ (हाकाहाकी)– सुरक्षाकर्मीलाई कोरोना संक्रमणको जोखिम बढेपछि राजधानीमा खटिएका प्रहरीको संख्या घटाउने निर्णय भएको छ ।

बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा भएको छलफलमा न्यूनतम संख्यालाई मात्र फिल्डमा खटाउने निर्णय भएको हो ।
जस अनुसार शान्ति सुरक्षाको अवस्थालाई खस्किन नदिन आवश्यक पर्ने संख्यालाई मात्र परिचालन गरिनेछ । हिजो राजधानीका दुई प्रहरी अधिकृतमा कोरोना संक्रमण पुष्टि भएपछि २ सय १४ जना प्रहरीलाई कार्यालयमै क्वारेन्टिनमा राखिएको छ ।

कालिमाटी वृत्त र मातहत कार्यालय, ट्राफिक प्रहरी र महिला सेलमा कार्यरत प्रहरीलाई कार्यालयभित्रै राखिएको हो । त्यसक्षेत्रमा ड्युटीका लागि एक सय जनाको टोली हेडक्वार्टरबाट पठाइएको छ ।

महिला सेलका प्रहरी भने संक्रमण देखिएका प्रहरीको सम्पर्कमा नभएको पाइएपछि उनीहरु काममा फर्किने तयारीमा छन् । ट्राफिक र कालिमाटी वृत्तका प्रहरी भने परीक्षणको रिपोर्ट आएपछि मात्रै काममा फर्किने टुंगो लाग्ने छ ।

त्यहाँका प्रहरीको भोलिकोरोना परीक्षण गर्ने तयारी भइरहेको छ । परीक्षणबाट निगेटिभ देखिएकाहरुलाई फेरि ड्युटीमा पठाइने र संक्रमण देखिएकाहरुलाई भने अस्पताल पठाइने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोख्रेलले बताउनुभयो ।

संक्रमण जतिमा देखिन्छ त्यति नै संख्यामा प्रधान कार्यालयबाट थप टोली मगाउने तयारी भएको छ । संक्रमण देखिएपछि प्रहरीलाई बाह्य मानिस लगायत ब्यारेकभित्रै पनि एक अर्कामा अनावश्यक भेटघाट नगर्न निर्देशन दिइएको प्रहरी प्रमुख पोख्रले बताउनुभएको छ ।

अब जाने टोलीलाई छरेर ड्युटीमा नखाटाउन पनि प्रधान कार्यलयको निर्देशन छ । अहिले उपत्यकामा थप ६ सय जनशक्ति प्रधान कार्यालयबाट मगाइएको छ ।

Facebook Comments