यहाँ जीवन खतरामा छ


यो लेख लेखिरहँदा मेरो स्मृतिमा ३ वर्ष अगाडिका केही दृश्य आउजाउ गरिरहेका छन् । मस्तिष्कमा एकपछि अर्को गर्दै ती दृश्य आइरहन्छन्/गइरहन्छन् । सायद प्रकृति, जिवजन्तुलाई प्रेम गर्ने सबैलाई यस्ता दृश्यको याद भइरहन्छ । त्यो के भने सन् २०१७ मे २२ मा शिकारी र चोरी भएर मारिएका चार हजार थानभन्दा बढी वन्यजन्तुका शरीरका अंग जलाइएको थियो चितवन, कसरामा । नेपालले जैविक विविधता दिवस मनाइरहँदा नेपाल सरकारले मृत जीवजन्तुका अंग नष्ट गरिरहेको थियो ।

मानिसको निजी स्वार्थवश मारिएका जीवजन्तुका अनेक अंग देखेपछि मलाई असाध्यै पीडा भएको थियो । जंगलमा स्वतन्त्र रूपले आफ्नै सुरमा खेलिरहने, उफ्रिरहने ती हजारौं निर्दोष जनावरका अंग आगोको रापमा जलिरहँदा म भित्रभित्रै रोएकी थिएँ । यो आगोको रापमा देखिन्थ्यो– जलिरहेका मृत वन्यजन्तुको अंग । तर, त्यहाँ ती अंगसँगै जलिरहेको थिए– कसैका प्रमिका र कसैका बच्चा, कसैका आमा, कसैका पिता ।

सन्दर्भ: जैविक विविधता दिवस

सायद मानिस यो सारा पृथ्वीको एक्लो हकदार आफूलाई मात्रै सोच्छ । र, आफूबाहेक सारा प्राणीलाई कि अधिनमा राख्न चाहन्छ कि तिनीहरूको हत्या गरी तिनको शरीरका अंगलाई मालबजारमा बेच्न चाहन्छ । आखिर मानिस यति धैरै निष्ठुरी किन छ ? ऊ जिउँदो प्राणीको जीवन बुझ्दैन, तिनका शरीरका अनेक मृत अंगको महत्व मात्रै बुझ्छ ।

आगोमा जलिरहेको थियो– चोरी शिकारी, तस्करीबाट बरामद भएका एकसिंगे गैंडाका खाग, चितुवा, हिउँ चितुवा, हात्तीका दारा, पुच्छर, बाघको छाला र नंग्रा, हाब्रे र ओतको छाला, कस्तुरी मृगको विना, भालुको पित्त, सालकको खपटा, अजिंगरको छाला, चितुवाको खप्पर आदि आदि । २० वर्षदेखि थुपारिएको ४८ प्रजातिका आखेटोपहार जलाइएको थियो । त्यस भन्दा अघि पनि तत्कालीन वनमन्त्री ह्दयेश त्रिपाठीको पालामा २०५४ सालमा शसस्त्र वन रक्षकको तालिम केन्द्रमा भण्डारण गरिएको आखेटोपहार कुहिएका, गन्हाएका, मक्किएका र कामै नलाग्ने अवस्थामा पुगेको भन्दै जलाइएको थियो ।

जंगलका सारा जीवजन्तु आफ्ना अति प्रिय साथीका मलामी आइदिउन्– मेरो मन यहि भन्दैथियो । म सोचिरहेको थिएँ– सायद अन्य जिवित वन्यजन्तु पनि आफूहरुलाई सम्मान र महत्व दिइएको यस्तो कार्यक्रममा आउन चाहन्छन् । तर, कार्यक्रम स्थलमा आउँदै गर्दा बाटैमा तिनलाई शिकारीले मारीदियो की ? वा आफूलाई ‘सम्मान’ पनि दिने र मार्न पनि पछि नपर्ने आफूभन्दा डरलाग्दो ‘मानिस’ छेउ पर्न डराएर फिर्ता गए की ? वा तिनलाई भय भयो– ती वन्यजन्तुको अंगको आगोमा आफू पनि जलेर खरानी भइन्छ भन्ने ? जंगलमा स्वतन्त्र बाँच्न मन पराउने वन्यजन्तुलाई सन्देश दिने मन छ । सारा विश्वसमक्ष उनीहरु भन्न चाहन्छन्– हाम्रो पनि मन छ, हाम्रो पनि जीवन छ, हाम्रो पनि आत्मा छ, कृपया हामीलाई बन्दुक नदेखाउ, कृपया हामीलाई धरापमा नपार, कृपया हामी निर्दोषलाई नमार, हाम्रो जीवन पनि तिमी मानिसको जस्तै हो र हामीमाथि निशाना लगाउने छुट तिमीलाई छैन ।

ती वन्यजन्तु जल्दै गर्दा मेरो मनले भनिरहेको थियो– वन्यजन्तुको पनि अधिकार हो, सुखले बाँच्ने । ती अकालमै जीवन बिसाउँछन्, ती ठूलो जोखिममा छन् । तिनलाई बचाआंै ।

जीवन नभएका सयौं वन्यजन्तुका मलामि थियौं हामी, मुकदर्शक मलामी । ती मृत वन्यजन्तुले थुपै्र मलामी पाएका थिए । ती मलामी ‘बुद्धिमान मानिस’ थिए र तिनको हत्या–चोरी गर्ने पनि अरू ‘बुद्धिमान मानिस’ हुन् । मलामीको दृष्य भव्य थियो, जहाँ मन्त्री, पत्रकार, राजदुत, संरक्षणकर्मीलगायतका थुप्रै उपस्थित थिए । तत्कालिन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, तत्कालिन वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी, जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीलगायत त्यहाँ आइपुगेका थिए । नेपालका लागि अमेरीकन राजदुत अलेना बी टेप्लिट्स पनि थिइन् । अंग जलाउने कार्यक्रमपछि मासु–भातको भोज पनि चलेको थियो ।

०००
हरेक वर्ष मे २२ मा संसारभरि जैविक विविधता दिवस मनाइन्छ । यस वर्ष यो दिवसको नारा छ– ‘हाम्रो समाधान प्रकृतिमै छ ।’ वन्यजन्तुको जीवन विशेष छ भन्ने बुझाउन यो दिवसको महत्व छ । जनावरका जलेका थुप्रै अंगको सम्झनाले मलाई वन्यजन्तुको संसारमा पस्ने बनाएको छ ।

मानिस पैसाको महत्व बुझ्छ तर सारा पर्यावरण र आफूबाहेक अरूको जीवनको वेवास्ता गर्छ । ऊ बुझ्दैन– यस सुन्दर संसारमा स्वतन्त्रताका साथ रमाउन र बाँच्न पाउने आफूजस्तै अरू प्राणीको पनि हक छ । सबै प्राणीले यो चोला एक दिन यहि प्रकृतिमै बिसाउनुपर्छ भन्ने ज्ञान उसलाई छ । तर, किन ऊ अरूको चोलाबारे कहिल्यै गम्भिर हुँदैन ? जंगलका स्वतन्त्र बाँचिरहेका जीवजन्तुलाई हत्या गरेर ती जीवका मृत अंगको अवैध व्यापार गरी पैसा कमाउन हिँडिरहेको छ मान्छे ।
अरूको जीवन सकेर आफ्नो जीवन बाँच्ने तुच्छ कला मानिसले कसरी सिक्यो होला ? आजकाल यस्तो प्रश्नले घेरिइरहन्छु म ।
मेरो देश अनेक जैविक विविधताले भरिपूर्ण छ । हाम्रा घना जंगल, सुन्दर तालतलैया, हिमालका मनोरम दृश्य, प्राकृतिक सौन्दर्य र जंगलका दुर्लभ जनावरले नै पर्यटकलाई लोभ्याउँछन् । तर, नेपालमा ती दुर्लभ जनावरको चोरी–शिकारी, तिनका अंगहरूको अवैध व्यापार प्रमुख चुनौती र भयानक समस्याका रुपमा विकसित हुँदै गएको छ ।

समुदायद्वारा संरक्षित जंगल होस् वा निकुञ्ज, त्यहाँका निर्दोष जीवजन्तुको जीवन खतरामा छ । बन्दुकको नालले तिनका बासस्थान र तिनको जीवन खोजिरहेका छन् । संसारबाट थुप्रै जीवजन्तु सधैंका लागि लोप भएका छन् । र, यसैगरी जिवजन्तुको चोरी–शिकारी भइरहे लोप हुन बाँकी अति दुर्लभ वन्यजन्तु पनि अब यस संसारबाट लोप हुने निश्चित छ । तिनको संरक्षणको निरन्तर प्रयास भइरहेका छन् । तर, पनि चोरी–शिकारीमा कमी आएको छैन । हरेक वर्ष थुप्रै जीवजन्तुको चोरी–शिकारी, वनमा लाग्ने डढेलोमा परी मरिरहेका दुर्लभ जनावरका समाचारले पत्रपत्रिकाका पृष्ठ रंगिएकै छन् । गैंडा, जरायो, चित्तल, बँदेल, रेडपाण्डा, गौरी गाई, पाटेबाघ, हात्ती, सालकजस्ता जीवजन्तुको हत्या र तिनका शरीरका अंगको अवैद्य व्यापारको ग्राफ उकालो लागेको लाग्यै छ । त्यो ग्राफ घट्ने संकेत देखिँदैन । वन्यजन्तुको संख्यामा वृद्धि त हुन्छ तर मानिसले तिनको हत्या गरिहाल्छन् । यसरी, वन्यजन्तु र मानिसबीच एकखाले द्वन्द्व सधैं उत्कर्षमा छ ।

०००
लाखौं वन्यजन्तुको शिकार हुन्छ विश्वभरि । मानिसको सुखको स्रोत पैसाकै लागि निशानामा पर्छन् यी वन्यजन्तु । मानिसले वन्यजन्तुलाई राम्रोसँग बाँच्ने वातवरण कहिल्यै सिर्जना गरेनन् । ती जनावर बस्ने वस्ती पनि फाँडेर मानिसले ठूलो अपराध गरेको छ । मानिसको बस्ती बढेको छ र वन्यजन्तुका वासस्थान साँघुरो हुँदै गएका छन् । त्यसैले जंगलका जीवजन्तु मानिसका वस्तीतिर आइपुग्छन् । वन्यजन्तुलाई बुझाउन मन छ होला– हामी बाँच्ने वातावरण भयो भने मानिसका लागि पनि त्यो त्यो वातावरण उपयुक्त र योग्य हुन्छ, त्यसपछि पृथ्वीको अवस्था विन विन हुन्छ ।

विन– विन–विन एप्रोच जसले आफु, आफुनजिक र समुदायलाई पनि सँगै फाइदा दिन्छ । वन्यजन्तु बचाउँदा मानिसलाई र समुदायलाई एकैपटक फाइदा पुग्छ । विश्वलाई वन्यजन्तु देखाएर हामी समृद्धको बाटोमा अघि बढ्न सक्छौं । वन्यजन्तुले वातावरण–प्रणालीलाई पनि राम्रो बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । हामी बाँच्नयोग्य वातावरणका लागि पनि वन्यजन्तुको जीवन आवश्यक हुन्छ । हामी आफु बाँच्न पनि वन्यजन्तुको संरक्षण जरुरी छ ।

विश्वभरी वन्यजन्तुको अवैध व्यापार २३ अर्ब अमेरिकी डलरको हुने गरेको अनुमान छ । वन्यजन्तुको अवैध व्यापारलाई अन्तर्राष्ट्रिय रुपमा संगठित अपराधीले चलाउँछन् । सामान्यता हतियार, महिलाको बेचविखन तथा ड्रग्स व्यापार गर्ने मान्छे नै वन्यजन्तुको अवैध व्यापारमा पनि संलग्न भएको पाइन्छ ।
एक तथ्यांकअनुसार, विश्वमा करिब ४० हजार बाँदर र प्राइमेट, २० देखि २५ लाख जिउँदा चरा, ५० देखि ६० करोड सजावटका माछा, ७० देखि ८० लाख केतुकी, ९० लाख देखि १ करोड सुनगाभा, २० देखि ३० लाख जिउँदा घस्रने प्राणी र २० देखि २५ लाख घस्रने प्राणीका छाला व्यापार हुन्छ । हरेक वर्ष एक अर्ब वन्यजन्तु फेसनको लागि र विभिन्न डिजाइनका कपडा निर्माणका लागि मारिने गर्छन् ।
वन्यजन्तुका वासस्थानको लागि ठूलो जंगलको क्षेत्रफल, घाँसेमैदान र स्वच्छ पानी आवश्यक हुन्छ । पर्यावरण ध्वस्त पार्दै मानिसले वन्यजन्तुको क्षेत्र पनि मासिसकेको छ । मानिसले यो बुझ्नु जरुरी छ– वन्यजन्तु हाम्रा गहना हुन् । तर, मानिसले यत्ति बुझ्न नचाहेर विश्वभरि नै वन्यजन्तु खतरामा छन् ।

डा. योगी विकासानन्द आफ्नो प्रवचनमा संसारभरी धुवाँ धूलो कम भएको, आकाश पहिलेभन्दा निलो भएको, धर्तीले सास फेर्न थालेको र विश्व जोगिन थालेकोमा खुसी व्यक्त गर्छन् । हामी सबैले अहिले स्वच्छ हावामा सास फेर्ने सुनौलो अवसर पाएका छौं । प्राकृतिक रूपमा विश्व त जोगिन थालेको छ तर वन्यजन्तु दुःखमै छन् । सर्वसाधरणको भिडले भरिने निकुञ्ज र आरक्ष क्षेत्र अहिले (चैत १० देखि) को लकडाउनपछि शान्त भएको छ । लामो समयपछि जीवजन्तुले बल्ल स्वतन्त्रता महशुस गर्न पाएको वन्यजन्तु विज्ञले विश्लेषण गरेका छन् । तर, लकडाउनको समयलाई नै फाइदाको रूपमा उपयोग गर्दै वन्यजन्तुको चोरी शिकारीमा मानिसहरू अग्रसर भएका केही घटना बाहिर आएका छन्, जुन निकै दुखद् छ ।

हालैमात्र सगरमाथा राष्ट्रिय निकुञ्जमा ६ वटा कस्तुरी मृगलाई पासोमा पारेर मारेको आरोपमा ७ जनालाई स्थानीयले पक्राउ गरि निकुञ्जसमक्ष बुझाएका थिए । त्यस्तै लकडाउनको फाइदा उठाउँदै चितवनमा तीनवटा गोहीलाई जालमा पारेर टाउको र पेटमा हानेर मारिएको पोस्टमार्टमबाट देखिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । त्यस्तै लकडाउनकमा नै बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै करेन्ट लगाएर एक वयस्क हाती मारिएको थियो ।

कोरोनाका समयमा आफु बाचौं तर वन्यजन्तु मारौं भन्ने अभियानमा छन्, तस्कारहरु । यसले मलाई र अन्य थुप्रै वन्यजन्तुलाई प्रेम गर्नेहरूलाई अति दुखी बनाएको छ ।

Facebook Comments