रेडियो सगरमाथा २४ औं बर्षमा प्रवेश प्रधानमन्त्रीदेखि सर्वसाधारणको शुभेच्छा र सुझाव


काठमाडौ, जेठ ९ (हाकाहाकी)– दक्षिण एसियाको पहिलो स्वतन्त्र सामुदायिक रेडियो, रेडियो सगरमाथा १०२ थोप्लो ४ आज आफनो प्रसारणको २४ औं बर्षमा प्रबेश गरेको छ ।
यस अवसरमा रेडियो सगरमाथाले प्रधानमन्त्री, पूर्व राष्ट्रपति, मन्त्रीहरु, सांसदहरु, सरकारी पदाधिकारी, सुरक्षा निकाय प्रमुखहरु, संचार क्षेत्रका अगुवा, विभिन्न क्षेत्रका विज्ञहरु, स्रोता, शुभचिन्तक लगायत सबैको शुभकामना र सुझाव लिएको छ ।

कोरोना महामारीका कारण भइरहेको बन्दाबन्दीका बीच शुक्रबार बिहान छ बजेदेखि साँझ पाँच बजेसम्म ललितपुरको मनिमण्डलस्थित आफ्नै भवनको स्टुडियोबाट प्रत्यक्ष प्रसारण गर्दै रेडियो सगरमाथाले आफ्नो २३ औं बार्षिकउत्सव मनाएको हो ।

रेडियो सगरमाथा संचालन बोर्ड तथा नेपाल वातावरण पत्रकार समुहका अध्यक्ष कसमस विश्वकर्माको सन्देशबाट बाषिकउत्सवका कार्यक्रम सुरु भएका थिए । शुक्रबार बिहानको खबर पत्रिका र हालचालबाहेकको समय बार्षिकउत्सव विशेष कार्यक्रमका रुपमा संचालन गरिएको थियो ।

स्वतन्त्र सामुदायिक रेडियो मात्र नभई, रेडियो सगरमाथालाई दक्षिण एसियाकै पहिलो स्वतन्त्र प्रसारण सेवाका रुपमा पनि लिइन्छ ।

२०५२ सालबाटै परिक्षण प्रसारण शुरू गरेको रेडियो सगरमाथाले २०५४ जेठ ९ गतेबाट विधिवत रुपमा १०२ थोप्लो ४ मेगाहर्जमा औपचारिक नियमित प्रसारण शुरू गरेको हो ।
नेपाल वातावरण पत्रकार समुह (नेवापस)ले संचालन गरेको रेडियो सगरमाथामा सुचनामुलक, जानकारीमुलक, समसामयीक बहस तथा मनोरन्जनात्मक कार्यक्रम तथा समाचारहरु प्रसारण गर्दै आइरहेको छ ।

स्थापना दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपति डा.रामबरण यादव, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, कृषि मन्त्री घनश्याम भुषाल लगायतले शुभकामना दिनुभएको छ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश

प्रधानमन्त्री ओलीले देशका सम्पुर्ण ग्रामिण भूभागमा सूचनाको मुख्य माध्यम बनेको सामुदायिक रेडियोहरुको स्थापना र स्थायित्वमा रेडियो सगरमाथाको भूमिका अग्रणी रहेको बताउनुभएको छ ।

उहाँले एक शुभकामना सन्देश जारी गर्दै, पहिले जस्तैै सगरमाथाले आउने दिनमा पनि निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभएको छ ।

पूर्व राष्ट्रपति डा. यादवले वातावरण क्षेत्रमा रेडियो सगरमाथाले पुुर्याएको योगदान सह्रानिय रहेको उल्लेख गर्दै आफूले रेडियो सगरमाथा नियमित सुन्ने गरेको बताउनुभयो ।

वन तथा वातावरणका क्षेत्रमा बहस र पैरवी गर्ने रेडियोका रुपमा आफूले लिने गरेको बताउनुभयो । यस्ता मुद्दालाई अझ सशक्त रुपमा उठाउन सुझाव पनि दिनुभयो ।

यसैगरी, स्वास्थ्य मन्त्री ढकालले पनि सगरमाथाले समाजमा आइपरेका समस्या समाधानका निम्ती पैरवीको काम गरेको बताउनुभो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले रेडियो सगरमाथाको बार्षिक उत्सवको अवसरमा शुभ कामना दिदै सगरमाथा सामुदायिक रेडियो अरु सवै सामुदायिक रेडियोको अभिभावक भएको धारणा राख्नुभएको छ । उहाँले कृषि क्षेत्रको विस्तार र विकासका लागि सरकारले गृहकार्य गरिएको जानकारी दिनुभयो ।

रेडियो संचालन बोर्ड तथा नेपाल वातावरण पत्रकार समुहका अध्यक्ष कसमस विश्वकर्माले रेडियो सगरमाथाको प्रसारण यात्राका सम्पुर्ण सहयात्री, शुभेच्छुक, बिज्ञापनदाता र संघ संस्था प्रति आभार व्यक्त गर्नुभएको थियो । उहाँले पछिल्ला दिनहरुमा समाज परिवर्तनमा रेडियोको भूमिका महत्वपूर्ण हुदै गएको उल्लेख गर्दै यसलाई दिगो रुपमा संचालन गर्न भने धेरै चुनौतीको सामना गर्नुपर्ने उल्लेख गर्नुभयो ।

आगामी दिनमा तीनै तहका सरकार, त्यसमा पनि स्थानिय सरकारहरुसँगको सहकार्यमा अघि बढने उल्लेख गर्नुभयो ।
शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले रेडियो सगरमाथाले समुदाय र संस्कृति अनि भाषाका क्षेत्रमा अतुलनीय योगदान दिएको प्रष्ट पार्नुभयो । रेडियो सगरमाथा यी मुद्दामा अग्रणी रहेकाले यसबाट सिक्नुपर्ने बताउनुभयो । जोशीले सगरमाथाले आफुलाई सधै अग्रणी रेडियोको रुपमा कायम राखोस भन्दै शुभकामना दिनुभएको थियो ।

रेडियो सगरमाथा स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका हालका नेकपा स्थायी समिती सदस्य रघुजी पन्तले ठूलै संघर्षले रेडियो सगरमाथा स्थापना भएको स्मरण गर्नुभयो ।

अग्रज पत्रकार भैरव रिसालले २४ वर्षको लोभलाग्दो उमेरमा रहेको सगरमाथाले लोभ लाग्दै प्रस्तुती दिनुपर्ने बताउनुभयो ।
प्रतिनिधी सभा राज्यब्यवस्था तथा सुशासन समिती सभापति शशी श्रेष्ठ, सांसद आशाकुमारी विक, प्रदेश सांसद राजकाजी मर्हजनले रेडियो सगरमाथाले समाज परिवर्तनमा पुर्याएको योगदानको खुलेर प्रसंसा गर्नुभयो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु मर्हजन, किर्तीपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्का रिजाल र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले रेडियो सगरमाथाको समाज र समुदायप्रतिको उत्तरदायित्व बहनमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरिक्षक ठाकुरप्रसाद ज्ञावली, ट्राफिक प्रहरी प्रमुख भिम ढकाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसीङ, राष्ट्रिय पुननिर्माण प्राधिकरणका सिइओ शुसील ज्ञावली, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष देवेन्द्र सुवेदी, सागमा किर्तीमानी स्वर्णधारी तेक्वान्दो खेलाडी आयशा शाक्य , वनस्पतीविद् तीर्थबहादुर श्रेष्ठ लगायतले २३ वर्ष पुरा गरी २४ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना दिनुभएको थियो ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल र सहकारी विभागका रजिष्टार डा टोकराज पाण्डेले रेडियो सगरमाथाबाट आफूहरुले अध्ययनका क्रममा धेरै कुरा सिकेको उल्लेख गर्नुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधी सभा सदस्य जिवनराम श्रेष्ठले समाजका समस्या उजागर गरी समाधानका निम्ती नीतीगत तहमा बहस गराउने रेडियो सगरमाथाले खेल र खेलकुदलाई पनि उत्तिकै समेटको बताउनुभयो ।

सामुदायिक रेडियोका अभियन्ता रघु मैनालीले रेडियो सगरमाथाको स्थापना नै सामुदायिक रेडियोहरु विस्तारका लागि कोशेढुंगा साबित भएको उल्लेख गर्नुभयो । ‘सगरमाथाको स्थापना भएकाले नै हाल मुलुकभर करिब ३५० सामुदायिक एफएम रेडियो संचालनमा छन ।’

कोरोनाको माहामारीबाट प्रभावित सर्वसाधारणकोको दैनिकीलाई समेटेर कार्यक्रम तयार गर्न उहाँले सुझाव दिनुभयो ।

सुरुका दिनमा दैनिक २ घण्टा प्रसारण हुने रेडियो सगरमाथाले आफनो प्रसारणलाई दैनिक १६ घण्टा पुर्याएको छ ।

आफनो प्रसारणमा रेडियो सगरमाथाले जनताको सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रताको हक, सामाजिक न्याय, प्रजातान्त्रिक अभ्यास र संस्कृति, सामाजिक खुला बहस, सुशासन र मानवअधिकारका लागि वकालत गर्दै आएको छ । वातावरण र दिगो विकास, सामाजिक मुद्दाहरुलाई मुल मन्त्रका रुपमा अंगिकार गरेको छ ।

शाही शासनकालमा रेडियो सगरमाथाको प्रसारणमा राज्यले हस्तक्षेप गर्दा प्रसारण अबरुद्ध भएको थियो । बीबीसी नेपाली सेवाको रिले प्रसारण गर्दै आएको रेडियो सगरमाथाले बीबीसीमा प्रसारित तत्कालीन बिद्रोही नेकपा माओवादीका अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्डको अन्तर्वार्ता पुनः प्रसार गर्न खोजेको भनी सरकारले रेडियो बन्द गर्न आदेश दिएको थियो ।
रेडियो सगरमाथा बन्द गर्ने निर्देशन बिरूद्ध बिभिन्न स्थानमा प्रदर्शनहरु भएका थिए । सर्वोच्च अदालतले रेडियो सगरमाथा बन्द गर्न सरकारले दिएको निर्देशनका बिरूद्ध अन्तरिम आदेश जारी गरे पछि झण्डै ४४ घन्टा पछि प्रसारण नियमित भएको थियो ।

सुरुमा कालधारा त्यसपछि पाटनढोका, लामो समय बखुण्डोलमा रेडियो स्टेशन स्थापना गरी प्रशारण गरेको रेडियो सगरमाथाले अहिले ललितपुरको भनीमण्डलबाट आपm्नै भूकम्प प्रतिरोधात्मक भवनबाट आफ्नो प्रसारण भइरहेको छ । कहिले तत्कालिन राज्यको हस्तक्षेप, कहिले भूकम्पको महाविपत्ति त अहिले कोरोनाको महामारीमा पनि विचलित नभई रेडियो सगरमाथा अगाडी बढिरहेको छ । दक्षिण एशियाकै पहिलो स्वतन्त्र प्रसारण सेवा रेडियो सगरमाथाको सञ्चालक संस्था नेपाल वाताबरण पत्रकार समूहका संस्थापक अध्यक्ष कृष्ण प्रसाद सिग्द्याल हुनुहुन्छ । रेडियो सगरमथाको पहिलो स्टेसन प्रमुख कृण्ण मुरारी शिवाकोटी, पहिलो कार्यक्रम निर्देशक रघु मैनाली, पहिला प्राविधिक उपेन्द्र अर्याल र पहिलो प्रसारक प्रस्तोता घमराज लुइँटेल हुनुहुन्छ ।

Facebook Comments