हावाको गति परिवर्तन हुँदा ‘सलह’ नेपाल छिर्र्योः कृषि मन्त्रालय

काठमाडौ, असार १४ (हाकाहाकी)– हावाको गतिमा आएको परिवर्तनले गर्दा अनपेक्षित रुपमा सलह नेपाल प्रवेश गरेको सरकारले बताएको छ । सरकारद्धारा सलह अध्ययन गर्न गठिन टोलीले यसअघि सलह नेपाल प्रवेश गर्ने संभावना नरहेको औल्याएको थियो ।
कृषि मन्त्रालयका अनुसार हावाको गतिमा आएको परिवर्तनका कारण पूर्वानुमान विपरित अफ्रिकाबाट भारतसम्म आएका सलहको एक झुण्ड शनिबार बिहान नेपालका बारा, पर्सा, सिन्धुली, सर्लाही, रुपन्देहीसहितका जिल्लामा प्रवेश गरेको थियो ।

कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार आइतबार थप झुण्ड भित्रिएको छैन । तर शनिबार भित्रिएका सलहका झुण्ड पाल्पा, मकवानपुर, ललितपुरसहितका क्षेत्रमा पनि पुगेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

नेपालमा ठूलो क्षति गर्ने गरेर सलहको समूह नआएको र थप झुण्ड पनि हालसम्म नभित्रिएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको । काठमाडौँ उपत्यका वरपर सलह देखिएको छ । तर यो ठूलो संख्यामा र बालीनालीमा क्षति पुग्ने गरी नआउने विज्ञहरुले अनुमान गरेका छन् ।

मन्त्रालय अन्तर्गतको खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखाका सहसचिव समेत रहेका डा. केसीले सलहको अवस्थाबारेमा हिजो भित्रिएका सलहका झुण्डमध्ये केही झुण्डमा केही सय तथा केही झुण्डमा केही हजारको संख्यामा सलह रहेको आँकलन गरिएको , मकवानपुर, बारा तथा पाल्पातिर पुगेको सलहले केही क्षति गरेको भन्ने आएकोतर नेपाल छिरेका सलह सामान्यभन्दा चाँडो एक स्थानबाट अर्को स्थानमा सरेको देखिएको बताउनुभएको छ ।

उहाँले ‘ललितपुरसहितका क्षेत्रमा पनि आएको कुरा छ, तर केही सयको संख्यामा रहेकाले खासै क्षति भने नगर्ने पनि बताउनुभयो । मन्त्रालयले यसअघि नै बनाएको कार्ययोजना अनुसार प्रभावित क्षेत्रमा विज्ञ खटिने तथा किसानलाई सजग बनाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

अहिले नै विषादी प्रयोग गर्नु पर्ने गरी सलह नआएकाले धुवाँ लगाउने, टिन तथा ढ्याङ्ग्रो ढोकेर आवाज निकाली भगाउने काम भइरहेको समेत डा. केसीले बताउनुभयो ।

हावाको गति अचानक फरक पर्दा भारतमा ठूलो संख्यामा आएको सलहको झुण्ड छुट्टिएर नेपाल प्रवेश गरेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको मन्त्रालयले बताएको छ ।

यस्तै अरब सागरबाट आएको वायु दक्षिण–पश्चिमबाट उत्तर–पूर्व दिशातर्फ बहन्छ । अहिले नेपालमा अरब सागरबाट आएको वायु सक्रिय रहेको छ। अझै केही दिन सोही वायु सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाखाशाले जनाएको छ ।

सोही कारण हावाको गतिमा सापेक्ष भएर सलहको समूह नेपाल आइपुगेको हो । नेपालबाट सलहको समूह जानका लागि दक्षिण–पूर्वबाट उत्तर–पश्चिम दिशामा बहने वायु सक्रिय हुनु पर्ने मौसमविदले बताएको कृषि मन्त्रालयका प्रवक्ता डा. केसीले जानकारी दिनुभयो ।

Facebook Comments