९४ प्रतिशत संक्रमित विदेशबाट आएका व्यक्तिः स्वास्थ्य मन्त्री

काठमाडौ, असार १६ (हाकाहाकी)– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अहिलेसम्म संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्ति रहेको बताउनुभएको छ ।

आज नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग गरेको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले अहिलेसम्म देशमा संक्रमण भएका १३ हजार संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा संक्रमण फेला परेको बताउनुभएको हो ।

उहाँले कोरोना संक्रमण नियन्त्रयणकै स्थितिमा रहेको दाबी गर्नुभयो । उहाँले दैनिक १० हजार जनाको पिसिआर विधिबाट परीक्षण गर्ने तयारी रहेको समेत बताउनुभएको छ ।

अहिले देशभर २२ वटा ल्याबबाट दैनिक ७ हजार ७ सय ९१ सम्म परीक्षण सम्भव भएको र अबको केही दिन भित्र देशभर ३३ वटा पुग्ने मन्त्री ढकालले बताउनुभयो ।

परीक्षण क्षमता बढाउन सरकारले निजी प्रयोगशालाहरूसँग सहकार्य गर्ने जनाए पनि अहिलेसम्म निजी प्रयोगशालाहरूले परीक्षण सुचारू गरेको छैन । निजी प्रयोगशालाहरूलाई परीक्षण गर्न दिन मापदण्ड जारी गरिए पनि प्रयोगशालाहरूको अनुमगन नहुँदा परीक्षण सुरु भएको छैन ।

मन्त्रालयले निजी प्रयोगशालाहरूबाट दैनिक १ हजार ५ सयदेखि २ हजार जनाको परीक्षण गर्ने लक्ष्य लिएको छ ।

Facebook Comments