२४ घण्टामा ७४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ, असार १९ (हाकाहाकी)– नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ७ सय ४० जनामा संक्रमण देखिएको हो । शुक्रबार थपिएका ७ सय ४० सहित नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ सय २३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ । कुल संक्रमितमध्ये ३१ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

Facebook Comments