बिच्छँयाको बहुमूल्य जडीबुटी : तस्करीले सखाप

इलाका प्रहरी कार्यालय कोल्टीले २०७६ मंसिरमा बरामद गरेको जडीबुटी ।

१४ साउन, बाजुरा । जडीबुटीका लागि प्रख्यात बाजुराको हिमाली गाँउपालिका वडा नम्बर १, २ र ३ ९साविक बिच्छँया गाविस० तीव्र गतिमा जडीबुटीविहीन बन्दैछ । वडा नम्बर १ मा पर्ने हिमाली सामुदायिक वन उपभोक्ता समिति सदस्य बृखबहादुर भण्डारी मनोमानी ढंगबाट संकलन र तस्करीले जडीबुटी सखाप पारेको बताउँछन् ।

बाजुराको ४० प्रतिशत भूभाग ओगटेको बिच्छँया भौगोलिक हिसाबले ज्यादै बिकट छ । यो क्षेत्रलाई सतुवा, वन लसुन, कुट्की, पाँचऔंले, सुगन्धवाल, जटामसी, विषजरा, चिराइँतो, झ्याउ, सुगन्धवाल, कुरिलो, पाखनवेद, रिठ्ठा, काउलो, तेजपात, बोझो, कचुर, टिमुर, अल्लो, लोकता, लौठसल्ला, चुत्रो, निगालो, कुटकी, जटामसी, भूतकेशलगायत २०० भन्दा बढी प्रकारका बहुमूल्य जडीबुटीको भण्डार मानिन्थ्यो ।

बाजुराका रुगीन, जुकोट, वाई, साप्पाटा, गोत्री, जगन्नाथ, कोल्टी, दहकोट, पाण्डुसैन, कैलाशमाडौं, आटीचौर मानाकोटलगायतका ठाउँ पनि जडीबुटीका लागि प्रख्यात थिए । ती ठाउँमा अहिले बिच्छँयामा जस्तै जडीबुटीहरू लोप हुने स्थिति छ ।

यी ठाउँका अधिकांश मानिसको आम्दानीको मुख्य स्रोत जडीबुटीे थियो । ‘एक सिजनमा एक परिवारले पाँच लाखसम्म आम्दानी गर्थे’ हिमाली गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष ध्यानेबहादुर रोकाया भन्छन्, ‘जथाभावी संकलन, तस्करी, वन फडाँनी र डढेलोले गर्दा अब त जडीबुटी हराइसके ।’

गौमूल गाउँपालिका– १ का गंगा धामी सबैजना जथाभावी उखेल्न मात्र लाग्दा बाजुरा जिल्लामा जडीबुटी ‘उहिलेको कुरा’ हुन लागेको बताउँछन् । जडीबुटी संकलन तथा बिक्रीवितरण नियमन गर्ने निकाय जिल्ला वन कार्यालय र स्थानीय सरकारले कडाइ नगर्दा यो अवस्था आएको उनको भनाइ छ ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल सरकारी निकायबाट नियमनमा कडाइ नहुँदा स्थानीयले नै जरासमेत नरहने गरी उखेलेर जडीबुटी सकाएको बताउँछन् ।

‘ठेकेदारहरूले वन कार्यालयबाट थोरै संकलन गर्ने पुर्जी लिएर स्थानीयबाट धेरै सकंलन गर्ने प्रवृत्ति रोक्न सकिएन’, मल्ल भन्छन्, ‘अब जडीबुटी संकलन र निकासी दुवैमा पूर्ण रोक लगाउनुबाहेक अर्को उपाय देखिएन ।’

ठेकेदारहरू बाजुराबाट वर्षेनि २० करोड रुपैयाँभन्दा बढीको २६ प्रजातिका जडीबुटी निकासी हुने बताउँछन् । डिभिजन वन कार्यालय, बाजुरा भने वार्षिक १० करोड रुपैयाँ जतिको कारोबार हुने गरेको बताउँछ ।

गत असार दोस्रो साता बुढीमालिका नगरपालिकाको जडाङ्गा गाउँमा संकलन गरेर सुकाइएको सतुवा ।

आर्थिक वर्ष २०७४र०७५ मा १५ प्रकारका ४९ हजार ४६५ किलो जडीबुटी संकलन गर्ने इजाजत दिएकोमा २ लाख ६४ हजार ३०४ किलो संकलन भएको विवरण डिभिजन वन कार्यालयसँगै छ । तर योभन्दा कैयौं गुणा बढी जडीबुटी वनबाट तस्करी हुने गरेको छ ।

गत असार दोस्रो साता बुढीमालिका नगरपालिकाको जडाङ्गा गाउँमा संकलन गरेर सुकाइएको सतुवा ।

सैन हिमालमा तस्करको अखडा
हिमाली गाउँपालिकाको १, २ र ३ वडामा ठूलो भूभाग भए पनि प्रहरी चौकी नहुँदा बिच्छँयामा चोरीशिकारी र जडीबुटी तस्करको राज चलेको छ । वार्ड नम्बर ३ युनामा रहेको प्रहरी चौकी वडा नम्बर ४, कवाडीमा झारिएको लामो समय भइसक्यो । बिच्छँयाका विभिन्न ठाउँबाट कवाडी पुग्न एक दिनदेखि तीन दिनसम्म लाग्छ ।

गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्ल यसले गर्दा पनि वन्यजन्तुको चोरीशिकार र जडीबुटी तस्करी गर्नेलाई बिच्छँया स्वर्गभूमि भएको बताउँछन् ।

बाजुराको हिमाली र हुम्लाको ताजा मैलाकोट गाउँपालिकाबीचमा रहेको सैन हिमाल क्षेत्रमा चोरीशिकारी र जडीबुटी तस्करीहरू हरेक सिजनमा ठूलाठूला पाल टाँगेर बस्ने गरेको मल्ल बताउँछन् ।

हिमाली गाउँपालिका– १ का वडा अध्यक्ष लालजित थापाका अनुसार, हरेक सिजनमा त्यहाँ हुलका हुल बन्दुकधारीहरू आउँछन्, तिनीहरूलाई केही भन्न सकिने अवस्था रहँदैन । ‘हाम्रो स्थानीय सरकारले यसमा केही गर्न सक्दैन’, उनले भने, ‘सुरक्षाका लागि पटक–पटक जिल्ला प्रशासन धाउँदा पनि हाम्रो केही लागेको छैन ।’

कुल ७ जना प्रहरी रहने कवाडी प्रहरी चौकीबाट बिच्छँयाका हिमाली क्षेत्र पुग्न पाँच दिनसम्म लाग्छ । निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारी भौगोलिक रूपमा निकै विकट र टाढा भएकोले बिच्छँयाको उत्तरी क्षेत्रमा चौकी राख्न समस्या परेको बताउँछन् । क्षेत्रमा सुरक्षाका लागि गृह मन्त्रालयमा रिपोर्टिङ भने भएको उनले बताए ।

तिब्बततिर तस्करी
चीनको तिब्बतसँग सीमा जोडिएका बझाङ्ग, हुम्ला, डोल्पा, र बाजुरामा संकलन हुने बहुमूल्य जडीबुटी र वन्यजन्तुका सिकुटी तिब्बतमा तस्करी हुन्छ । तस्करहरूले भारतबाट बेलाबेला ल्याउने रक्तचन्दन पनि यही बाटो चीन लगिन्छ ।

नेपाल सरकारको उपस्थिति नरहेका हुम्लाको टाँके, चुँवाखोला, लिमी, मासपुर, खगालगाउँ, मुगुको नाक्चेलाग्ना, डोल्पाका ल्हाम्हे छङरा, खुङखोला र बझाङ्गको उरै भञ्ज्याङ नाकालाई तस्करहरूले खुला ढोका बनाएका छन् ।

त्यहाँका हिमाली पाटनमा टनका टन प्रतिबन्धित जडीबुटी र वन्यजन्तुका मासु सुकाएको हुन्छ । तस्कर, शिकारी र उनीहरूका कामदार ठूलाठूला पालपाल टाँगेर बसेका हुन्छन् । हिमाली गाउँपालिका– १ का वडाध्यक्ष थापा भन्छन्, ‘तस्करीका मालहरू तयार भएपछि खच्चड, भेँडा र भरियालाई बोकाएर दिउँसै निर्धक्क ताँती बनाएर हिँडाउँछन् ।’

कोल्टी हुँदै नेपालगञ्ज जाने बिच्छँया क्षेत्र जडीबुटीको सानो अंश मात्र हो । जसको विवरण डिभिजन वन कार्यालय, बाजुरामा पाइन्छ ।

एकजना जडीबुटी ठेकेदार पद्मबहादुर शाहीका अनुसार संकलनको सिजनमा नेपालका मात्र नभई चीन र भारतसम्मका ठेकेदारहरू बिच्छँयाका जंगल पुग्छन् ।

बरामद जडीबुटीको अत्तोपत्तो छैन
२०७३ मंसिर २६ गते जिल्ला प्रहरी कार्यालय बाजुरा र जिल्ला वन कार्यालय बाजुराको संयुक्त टोलीले गैर–कानुनी रूपमा संकलन भएको जडीबुटी बरामद गरेर पत्रकार सम्मेलन गरेको थियो ।

त्यसबेला बुढिनन्दा नगरपालिकाको कोल्टी र दानसाँगु हुँदै बाहिरिन लागेको कटुकी, जटामसी, चिराइँतोलगायतका जडीबुटीको मूल्य डेढ करोडभन्दा बढी भएको बताइएको थियो ।

१० जना ठेकेदारले जिल्ला वन कार्यलयबाट ९ हजार ७०० किलोको इजाजत लिएर ३६ हजार ८८० केजी संकलन गरेका थिए । जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिएसपी दलबहादुर बोगटीले तीमध्ये २७ हजार १८० केजी गैर–कानुनी जडीबुटी बरामद गरेर इलाका वन कार्यालय कोल्टी राखिएको बताएका थिए ।

पत्रकार सम्मेलनमा जिल्ला वन कार्यालयका तत्कालीन प्रमुख विजेन्द्र सुवेदीले अनुमति लिएभन्दा बढी जडीबुटी संकलन गर्नेविरुद्व मुद्दा चलाउने बताएका थिए । तर न मुद्दा चल्यो न त जडीबुटीको कानुनी व्यवस्थापन नै भयो ।

‘ती ठेकेदारलाई कारबाही गर्ने प्रकृया अगाडि बढाएको भन्ने जानकारी अहिले छैन’, डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेल भन्छन्, ‘म यहाँ आउँदा २०७३ सालमा बरामद गरेको भनिएको जडीबुटी पनि थिएन ।’

Facebook Comments