स्थानीय तहको नविकरणीय उर्जातर्फ आकर्षण बढ्दै प्रविधिको ज्ञान र प्राविधिकको कमी

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिका २ की ६० बर्षीया तिलादेवी घिमिरेलाई घरमै पानी आउला भन्ने कल्पना पनि थिएन् । जीवनका उर्जाशिल समय पँधेराको पानी बोकेरै बिते ।
घाम नउदाउँदै मसुरपानी पँधेरामा पुग्नुपथ्र्यो । दिनभरको मेलापातको कामले लखतरान शरिर । साँझ पनि पुनः पँधेरा नधाउनुको विकल्प थिएन् । अहिले जलकुने सौरपाटा लिफ्ट खानेपानी आयोजनाले भने घिमिरेको दैनिकी फेरिएको छ ।

‘घरमै पानी आउन थालेका दुई बर्ष पुग्न थाले, विगत सपना जस्तो लाग्छ’ उनले भनिन, ‘अहिले समयको बचत र पानी पनि प्रशस्तै भएको छ ।’ उच्च भु–भागमा बस्ती भएकाले नेटा, मुसिकोट र वडागाउँका नागरिकले बर्षौदेखि खानेपानीको संकट भोग्दै आएका थिए । अहिले गाउँ–गाउँमा लिफ्ट प्रविधिमार्फत खानेपानी आपूर्ति भएपछि स्थानीय खुसी छन् ।

पानी बोक्न खर्च गर्ने समय खेतीपाती र अन्य व्यवसायमा लगाउन थालिएको स्थानीय युवा बसन्त अधिकारीले बताए । अरबाँज सोलार लिफ्ट खानेपानी योजना निर्माण भएपछि ३८ घर परिवार र सिद्ध प्राविका विद्यार्थीहरुलाई खानेपानी सहज भएको छ । त्यो भन्दा पहिले एक डेढ घण्टा हिडेर पँधेरा पुग्नुपर्ने बाध्यता थियो । ०७५ चैतबाट सोलार लिफ्ट सञ्चालनमा आएपछि विद्यालय र स्थानीयलाई सहज भएको स्थानीय केशव बहादुर रायमाझी बताए ।

मुसिकोटमा मात्रै १० लिफ्ट खानेपानी

मुसिकोट वडागाउँ खानेपानी योजनाले थेग्न नसकेपछि मुसिकोटमा स्थानीय तहको गठनसंगै धमाधम लिफ्टिङ्ग खानेपानी सञ्चालनमा आएका छन् । मुसिकोट वडागाउँ खानेपानी योजना ठुलो र पुरानो योजना हो । ३६ किलोमिटर टाढा दुनाममा मुल भएकाले पटक–पटक फुट्ने, पहिरोले बगाउनेलगायतका समस्याले खानेपानी नियमित थिएन् ।

सुख्खा समयमा मुसिकोट र वडागाउँका स्थानीयले टयांकरमा पानी किनेर खानुपर्ने बाध्यता समेत विगतमा रहेको स्थानीय महेन्द्र घिमिरेले बताए । विद्यूतको पहुँच बिस्तारसंगै मुसिकोट नगरपालिकाको १० स्थानमा लिफ्ट खानेपानी योजना सञ्चालन भएका छन् ।

मुसिकोट नगरपालिका वडा नम्बर १ मा दुई, वडा नम्बर २ मा एक, वडा नम्बर ३ मा २, वडा नम्बर ४ मा तीन, वडा नम्बर ८ मा एक र वडा नम्बर ९ मा एउटा लिफ्ट खानेपानी योजना सञ्चालन भएको वास संयोजक सिता भुसालले जानकारी दिइन् । बिद्युत विस्तार भएपछि बर्षौदेखि धेरै टाढाबाट खानेपानी बोकेर पिउन बाध्य थुप्रै नागरिकलाई लिफ्टमार्फत खानेपानीको पहुँच स्थापित गरिएको उनले बताइन् ।

खोलापानी–धरमपानी–मैदान लिफ्ट खानेपानी योजना मार्फत दुई ४३ घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । जसका कारण एक/डेढ घण्टा हिडेर पँधेरा र कुवा धाउनुपर्ने नागरिकको बाध्यता टरेको छ । तर अनियमित बिद्युतको चपेटामा उपभोक्ता समिति र नागरिक परिरहेका छन् ।

विद्युत नियमित नुहँदा पम्पहरु बिग्रने, लामो समय विद्युत मर्मत नहुँदा पुनः पँधेरा र कुवा धाउनु पर्ने साथै पम्पहरुमा समस्या भए तत्काल मर्मत गर्ने जनशक्ति नहुँदा समस्या भएको खोलापानी–धरमपानी–मैदान लिफ्ट खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष हिरण्यराज घिमिरेले बताए ।

लिफ्ट खानेपानी महङ्गो छ । मासिक आठ युनिट सम्मको लागि न्यूनतम तीन सय ७० मुल्य निर्धारण गरिएको छ । घिमिरेले मासिक ५०/५५ हजार विद्युत महसुल बुझाउने र तीन कर्मचारीको पारिश्रमिक र नियमित मर्मतका थुप्रै रकम खर्च हुने गरेको छ ।

विद्युत र सोलार लिफ्ट सिचाई

मुसिकोट नगरपालिकाका विभिन्न स्थानमा चार वटा सोलार लिफ्ट सिंचाई आयोजना सञ्चालनमा रहेका छन् । सिंचाईको समस्या भएका स्थानमा सोलार लिफ्ट प्रयोग गरिएको छ । बडिगाड–ताल्तुङ्ग सोलार लिफ्ट सिंचाइँ मार्फत एक सय ३० रोपनीमा खेती गरिएको वडा सदस्य बाबुराम खत्रीले जानकारी दिए ।

उनले सोलार लिफ्ट बेमौसममा खेती गर्न समेत निकै उपयोगी भएको बताए । धेरै दिन घाम नलागे सोलार प्रविधिमा गाह्रो हुन्छ । अरु बेला बिहानदेखि बेलुकासम्म पानी तान्न सकिने भएकाले सिंचाँइको अभाव हुँदैन् । सिचाईँ सुविधा पाएपछि खेतमा धेरै कृषकले केहि न केहि उत्पादन गरिरहेको खत्रीले बताए ।

सोहि ठाउँमा विद्युतीय लिफ्ट सिंचाईको काम भइरहेको छ । खत्रीले विद्युत र सोलारबाट सञ्चालित लिफ्ट सिस्टमका पम्पहरु बिग्रिएपछि मर्मत गर्ने जनशक्ति गाउँमा नभएका कारण पनि उपभोक्ताहरु बुटवल पुग्नुपर्ने बाध्यता रहेको जानकारी दिए ।

त्यस्तै मुसिकोट नगरपालिकामा विद्युतमार्फत दुई र सोलारमार्फत चार लिफ्ट सिंचाई आयोजना निर्माण भइरहेका छन् । मुसिकोट नगरपालिका १ पौदी अमराईको अरेवामा निर्माण भइरहेको विद्युतीय लिफ्ट सिंचाई आयोजना सम्पन्न भएपछि चार सय घरधुरी लाभान्वित हुनेछन् ।

सिंचाईको व्यवस्था नहुँदा २२ सय रोपनी खेतमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता थियो । यो योजना समयमै सम्पन्न भए बे–मौसमी खेति गर्ने आशामा कृषकहरु रहेको स्थानीय भुपेन्द्र रायमाझीले बताए । त्यस्तै मुसिकोट नगरपालिका वडा नं ७ वामी टार सिंचाई आयोजना निर्माणको काम जारी रहेको छ ।

युवाहरुलाई कुटानी पिसानीका मेसिन

मुसिकोट नगरपालिकाले युवा स्वरोजगार कार्यक्रममार्फत कुटानी पिसानी मेसिनहरु वितरण गरिरहेको छ । विद्युत मार्फत सञ्चालन हुने करिव एक सय कुटानी पिसानी मेसिनहरु ५० प्रतिशत अनुदानमा युवा उद्यमीहरुलाई प्रदान गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए ।

यो कार्यक्रम साविकका प्रत्येक वडासम्म पु¥याउने लक्ष्य नगरपालिकाको रहेको भण्डारीले बताए । उनले स्वरोजगारसंगै उर्जाको खपत गर्ने र वायु प्रदुषणलाई कम गर्न विद्युतीय कुटानी पिसानीका मेसिनहरु वितरण गरिएको बताए ।

भर्खरै मेसिन सञ्चालन गरेका मुसिकोट नगरपालिका २ का इश्वरी आचार्यले विद्युतीय मेसिनबाट छिटो छरितो, कम परिश्रम र वायु प्रदुषण नहुने बताए । अहिले कुटानी पिसानीको मुल्य पनि कम छ ।

लघु जलविद्युत केन्द्रिय प्रसारणसंग जोडिदैँ

मुसिकोट नगरपालिकामा लघु जलविद्युत परियोजना, लिफ्ट खानेपानी, सिंचाई, कुटानी पिसानीका मेसिन तथा किसानहरुलाई साना विद्युतीय पम्प र कृषि औजारहरु वितरणका काम भइरहेको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जानकारी दिए ।

नगरपालिकामा परोपकारी लघु जलविद्युत परियोजना, दरमखोला लघु जलविद्युत परियोजना, बडिगाडखोला लघु जलविद्युत परियोजना, करङ्गखोला लघु जलविद्युत परियोजना सञ्चालनमा छन् । अहिले दरम र परोपकारी लघु जलविद्युत परियोजनालाई केन्द्रिय प्रसारण लाइनसंग जोड्न सवै प्रक्रिया पुरा गरेको सापकोटाले बताए ।

गल्कोट नगरपालिका ८ को दरमखोला लघु जलविद्युत परियोजना मार्फत पनि मुसिकोट नगरपालिका ९ का चार सय ५० घरमा भर्खरै विद्युतीकरण गरिएको छ । मेयर सापकोटाका अनुसार मुसिकोट नगरपालिकाले उज्यालो मुसिकोट घोषणा गर्नको लागि वडा नं १, ८ र ९ मा २० घर विपन्न परिवारलाई सोलार सिस्टम समेत वितरण गरेको छ ।

उर्जा इकाई र उपशाखा छैनन्

स्थानीय तहमा ऊर्जा कार्यक्रमको विस्तार र पहुँच बढाउन ऊर्जा इकाई र ऊर्जा उप–समितिको गठन गर्नुपर्छ । तर जिल्लाका अधिकांश स्थानीय तहमा इकाई र उपसमिति गठन भएका छैनन् । जसका कारण उर्जाका छुट्टै योजना निर्माण गरेर लगानी बढाउन समस्या भइरहेको मुसिकोट नगरपालिकाका उपमेयर कमला शर्माले बताइन् ।

उर्जाको क्षेत्रमा विवेकले काम भइरहेको भएपनि इकाई र उपसमिति नभएका कारण व्यवस्थित बनाउन गाह्रो भएको शर्माको भनाई छ । उनले आफुहरुले अब त्यो बिषयलाई पनि अगाडी बढाउन कार्यपालिकामा छलफल गर्ने बताइन् ।

प्रभावकारी उर्जा योजनाको तयारी तथा कार्यान्वयनको अवस्थाको बारेमा प्राक्टिक एक्सनले एउटा अनुसन्धान गरेको छ । जसमा स्थानीय तहमा उर्जा योजना र बजेटको बिषयमा काम गर्न उर्जा इकाई र समितिको गठन, लैंगिक समानता र समावेशीरण, सार्वजनिक निजी साझेदारी, तीन तहका सरकारहरु, वैकल्पिक उर्जा प्रवद्र्घन केन्द्र, नेपाल विद्युत प्राधिकरण, अन्य ऊर्जा आपूर्तिकर्ता र ऊर्जा सेवा प्रदान गर्ने सरोकारवालाहरु बीच समन्वय आवश्यक रहेको नीतिगत सुझाव पेश गरेको छ ।

तीन वटै सरकारले कृषि र उर्जाको क्षेत्रमा प्रदान गर्ने प्रविधिको बारेमा स्थानीयलाई प्राविधिक ज्ञान छैन् । साना ठुला औजार र उपकरणहरु बिग्रेपछि मर्मत गर्ने जनशक्ति नहुँदा उपभोक्ता समिति र योजनासंग सम्बन्धित स्थानीयले सास्ती खेप्नु पर्ने स्थिती रहेको छ । जसका लागि प्रविधीको विकाससंगै प्राविधीक र सोही बिषयको सीपका बारेमा तीन वटै सरकार ध्यान दिनुपर्छ ।

साभार : dharatalonline.com

Facebook Comments