उदाहरण बन्दै विद्युत सहकारी, बिजुलीलाई उद्यमसँग जोड्दा २५ गुणासम्म बढ्यो ग्रामीण विद्युत खपत

काठमाडौं । विद्युत सहकारीको पहलमा अहिले देशका थुप्रै ग्रामीण क्षेत्र उज्यालो मात्र भएका छैनन्, गाउँको विद्युतीकरणमा भूमिका खेलेका यस्ता सहकारीहरुले उत्पादित विद्युतलाई स्थानीयको आय आर्जनमा प्रयोगका लागि पनि प्रोत्साहन गर्न थालेका छन् ।

त्यसैको पछिल्लो उदाहरण हो – सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ललितपुर, काभ्रे, लगायतका ७ जिल्लाका १५ बढी सामुदायिक ग्रामीण विद्युत सहकारी संस्थाहरुमा “लैंगिक समानता तथा सामाजिक समावेशिकरणका लागि ऊर्जा क्षेत्रको क्षमता अभिवृद्धि” कार्यक्रम अन्तर्गत आफ्ना सदस्यलाई उद्यम व्यवसायका लागि प्रोत्साहित गर्न कृषि विकास बैंकमार्फत तीन प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने भएका छन् ।

सम्झौताबमोजिम सहकारीको सिफारिसमा उसका सदस्यहरुलाई बैंकले आधार दरमा ६ प्रतिशत ब्याज अनुदान दिने गरि सस्तो कर्जा उपलब्ध गराउनेछ । तर यसका लागि सदस्यहरुले व्यवसायिक योजनासहितका सर्त भने पूरा गरेको हुनुपर्ने बताइएको छ ।

यो सम्झौतापछि उक्त बैंकहरुले उद्यम संचालन गर्न महिलालाई तीन प्रतिशत ब्याजदरमै १० लाख रुपैयाँसम्म कर्जा दिनेछन् । सोही बराबरको रकम सहकारीका पुरुष सदस्यहरुले पनि व्यावसाय गर्न पाँच प्रतिशत ब्याजदरमै पाउने बताइएको छ ।

खासगरी महिला उद्यमशीलता विकास तथा प्रवर्द्धन गर्ने कार्यक्रमअन्तर्गत १५ सामुदायिक विद्युत सहकारीसँगको साझेदारीमा पाँच सयभन्दा बढी महिला उद्यमी उत्पादन गर्ने लक्ष्यअनुरुप यस्तो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन खोजिएको बताइएको छ।

इर्जिया/हिभोस, सिआरटिएन, प्राक्टिकल एक्सन कन्सल्ङि र सामुदायिक विद्युत उपभोक्ता महासंघसँगको सहकार्यमा एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोग मार्फत यो कार्यक्रम सञ्चालन भईरहेको छ।

गाउँ–गाउँमा विद्युतीकरण भएपनि बत्ती बाल्नबाहेक विद्युतको खपत अन्य प्रयोजनमा खासै नहुँदा यसले आर्थिक उपार्जनमा भूमिका खेल्न सकेको छैन । यसैले यी संस्थाहरुको सहयोगमा देशैभरका विद्युत सहकारीका सदस्यहरुलाई उद्यमका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने परियोजना अघि बढाउन खोजिएको बताइएको छ, ताकि ती उद्यमले ग्रामीण विद्युत खपतमा मद्दत पुर्‍याउन सकुन्।

तर, कोभिड–१९ प्रभावका कारण देशव्यापीरूपमा यो कार्यक्रम विस्तार हुन सकेको छैन । हाललाई पहिलो चरणमा १५ विद्युत सहकारी मार्फत यो कार्यक्रम संचालन गर्न लागिएको छ । त्यसैअन्तर्गत सिन्धुपाल्चोक, ललितपुर र काभ्रेका विद्युत सहकारीका सदस्यलाई यो सुलभ व्यवसाय कर्जा शुरु गरिएको हो ।

अहिले ५४ जिल्लामा ३०१ सामुदायिक विद्युत उपभोक्ता संस्था (सहकारीसहित) सक्रिय छन् । जसमा एक हजारदेखि १० हजार जनासम्म सदस्य छन् । यी संस्थाले बढीजसो दुर्गम पहाडी क्षेत्रका समेत गरी साढे ५ लाख घरधुरीसम्म विद्युतको पहुँच पुर्‍याएका छन् । देशभर कुल ४८ लाख विद्युत उपभोक्ता रहेकामा विद्युत सहकारीहरुले मात्र साढे ११ प्रतिशतको घरमा उज्यालो दिएका छन् ।

सामुदायिक विद्युत सहकारीले गाउँमा विद्युत पुर्‍याएपछि त्यसलाई आयआर्जनमा थप उपयोगी कसरी बनाउने भनेर सदस्यहरुलाई अभिमुखीकरण समेत गर्ने गरेको सामुदायिक विद्युत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवाली बताउँछन्। ‘सहकारीको काम बिजुली जोडेर बत्ती बालिदिने मात्रै होइन। त्यसलाई आयआर्जनमा कसरी प्रयोग गर्न सकिन्छ भनेर सिकाउने पनि हो,’ उनी भन्छन् ।

बैंकसँग सम्झौता नहुँदा व्यक्तिगत आर्थिकस्तर बलियो नहुँदा एक लाख रुपैयाँ पुँजी जुटाउन पनि मुस्किल हुँदा धेरै ग्रामीण विद्युत उपभोक्ताले उद्यम व्यवसाय संचालन गर्न सकिरहेका थिएनन्। तर, बैंकले तीन प्रतिशत ब्याजमै कर्जा दिने भएपछि भने धेरैले व्यवसाय गर्ने हिम्मत गर्न थालेको पाइएको छ ।

यो कर्जा लिएर विद्युत खपत नगरी नहुने मिल (कुटानीपिसानी), ग्रील व्यवसायदेखि कुखुरा, बाख्रापालन लगायतका व्यवसाय थाल्नेहरु बढ्दो क्रममा देखिएका छन् ।

यसरी विद्युतलाई उद्यम व्यवसायसँग जोड्न थालेपछि अहिले ग्रामीण उपभोक्ताको विद्युत खपतको पहिलेको तुलनामा २५ गुणासम्म बढेको छ । पहिले २० युनिट मात्र विद्युत खपत गर्नेले अहिले पाँच सय युनिटसम्म खपत गर्न थालेको सिन्धुपाल्चोकको हाँडीखोला ग्रामीण विद्युत सहकारीका सचिव मेघबहादुर श्रेष्ठले बताए।

विद्युत खपत बढाउन प्राधिकरणले पूर्वाधार क्षमता वृद्धि गरिदिने
यसरी सहकारीले आफ्नै पहलमा ग्रामीण विद्युत खपत बढाउन थालेपछि विद्युतीय लाइनको क्षमता वृद्धिमा नेपाल विद्युत प्राधिकरणले पनि सघाउने भएको छ । प्राधिकरणका ग्रामीण सामुदायिक विद्युतीकरण विभागका निर्देशक सच्चिदानन्द यादवले यसका लागि प्राधिकरणले प्रतिबद्धता गरेको बताए ।

सहकारीमार्फत हुने विद्युतीकरण अधिकांश ग्रामीण इलाकामा छ। त्यहाँ बत्ती मात्रै बाल्ने हुनाले ट्रान्सफर्मरदेखि तार तथा पोलसम्मका सबै पूर्वाधार साना क्षमताका राखिएका छन् । अहिले गाउँमा विद्युत सहज भएसँगै सामान्य मानिसले पनि दैनिकी सजिलो बनाउन पानी तान्ने मोटर राख्नेदेखि अन्य विद्युतीय उपकरणहरु घरमा जडान गर्ने गरेका छन्।

यस्तै, पछिल्ला दिनमा गाउँमा पनि उद्यम व्यावसाय गर्ने क्रम विस्तारै बढ्न थालेपछि विद्युतको माग बढेको छ । यसैले प्राधिकरणले ग्रामीण विद्युतीकरणमा विद्यमान पुरानो क्षमतालाई स्तरोन्नति गरिदिने तयारी गरेको यादवले जानकारी दिए।

अहिले दिएको लाइनको क्षमता १५ देखि २० किलोवाट मात्रै भएकाले मध्यम खालका व्यवसाय सञ्चालन गरेको ठाउँमा ५० केभिएसम्मको क्षमता विस्तार गर्न सकिने उनले बताए।

अर्कोतर्फ, विद्युत खपत बढाउन सामुदायिक विद्युत सहकारीले नै अनुदान र किस्ताबन्दीमा विद्युतीय चुल्हो समेत वितरण गर्न थालेका छन्। सामान्य उपभोक्ताले पनि विद्युतीय चुल्होमा खाना पकाउन सकुन् भनेर सहकारीले विभिन्न संस्थासँग मिलेर यस्तो स्किम ल्याएको महासंघका अध्यक्ष ज्ञवालीले बताए।

काभ्रेपलाञ्चोकको टिमाल सामुदायिक विद्युत सहकारीले नगद ११ सय रुपैयाँ र ६ महिनाको विद्युत महसुल अनुदान दिनुका साथै विद्युतीय चुल्हो प्रयोग गर्न मिल्ने वायरिङसम्ममा सहयोग गरेको छ । यसबाट करिब एक हजार विद्युतीय चुल्हो वितरण गरिसकेकोमा कोभिडले तत्काल यो कार्यक्रम प्रभावित भएपनि छिट्टै सुरु गर्ने तयारी भइरहेको ज्ञवाली बताउँछन्।

सामुदायिक विद्युतीकरण उपभोक्ता समिति बालुवा पाँचखालले पनि आफ्ना सदस्यलाई एक वर्षसम्म मासिकरूपमा किस्ताबन्दीमा पैसा तिर्न सक्नेगरी विद्युतीय चुल्हो वितरण गरिरहेको छ। ज्ञवालीका अनुसार, अन्य थुप्रै सहकारीहरुले अहिले विद्युतीय चुल्हो प्रयोगका लागि अध्ययन गरिरहेका छन् ।

व्यवसाय गर्न महिलाले पाउन थाले सस्तो कर्जा
हाँडीखोला ग्रामीण विद्युत सहकारी संस्थाका केही महिला सदस्यहरुले यस्तो कर्जा लिएर काम नै गर्न थालिसकेका छन् । त्यस्तै, थप १२ महिला सदस्य पनि कर्जा पाउने क्रममा रहेको यस सहकारीका सचिव श्रेष्ठले बताए ।

‘कोरोनाका कारण सुरुआती काम प्रभावित भएकाले धेरै जनाको सहुलियत कर्जा स्वीकृत हुन बाँकी छ । कर्जाका लागि आवेदन गरिसकेपछि सदस्यले आवश्यक तयारी गर्नुपर्छ,’ उनले भने, ‘आफूले गर्ने व्यवसायको तयारी नगरेसम्म कर्जा दिनका लागि सहकारीले बैंकलाई सिफारिस गर्दैन।’

कोभिड-१९ ले असर नगरेको हुन्थ्यो भने यतिबेला ५० भन्दा बढी सहकारी संस्थाका कयौं सदस्यहरुले यो सहुलियतपूर्ण कर्जा लिएर व्यवसाय सुरु गरिसकेको हुने सामुदायिक विद्युत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीको भनाइ छ।

यो कर्जा सुविधाले महिलालाई सबल र आर्थिक रूपमा आत्मनिर्भर बनाउने विश्वास गरिएको छ। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाकी दुई महिलालाई त्यसको उदाहरणका रूपमा लिन सकिन्छ।

गत असारमा स्थानीय विद्युत सहकारीको सिफारिसमा १० लाख रुपैयाँ सहुलियत कर्जा लिएकी कमलादेवी श्रेष्ठले कुखुरापालन सुरु गरेकी छन्। दुई लट कुखुरा बेचिसकेकी श्रेष्ठले अहिले १५ सय चल्ला हुर्काइरहेकी छन् । उनका अनुसार, अगाडिका लटमा योभन्दा कम चल्ला हाल्दा पनि एकपटकमा सबै खर्च कटाएर ५० देखि ५५ हजार रुपैयाँ बचत भएको थियो।

त्यस्तै, सहकारीको सिफारिसमा कृषि विकास बैंकबाट ९ लाख ६० हजार रुपैयाँ ऋण लिएर रेष्टुरेन्ट सञ्चालन गरेकी पाँचपोखरीकै रिना बमजन तामाङले पनि व्यावसायबाट प्रतिफल लिन सुरु गरिसकेको बताइन् ।

यस ठाउँका अन्य सदस्यहरुले पनि कुटानीपिसानी (मिल), ग्रिल उद्योग र कुखुरापालन इत्यादिका लागि ५४ लाख रुपैयाँ सुलभ ऋण लिइसकेको सिन्धुपाल्चोकका महिला उद्यम विकास संयोजक रुपक देउवाले बताए।

उनका अनुसार, यसरी उद्यम संचालनका लागि कर्जा लिनेहरुलाई एशियाली विकास बैंकको महिला उद्यम विकास कार्यक्रममार्फत आवश्यक सीपसम्बन्धी तालिम दिइएको छ।

तीन चरणमा कर्जा, भुक्तानी ६ महिनामा १ लाख
विद्युत सहकारी र स्थानीय महिला उद्यम विकास संयोजकको सिफारिस अनिवार्य गरिएको सहुलियत कर्जा जुन प्रयोजनमा लिन लागेको हो। त्यसैमा मात्रै खर्च होस् भनेर तीन चरणमा गरेर उपलब्ध गराउने नियम लगाइएको छ ।

यसरी बैंकबाट कर्जा पाउनेले हरेक ६ महिनामा एक लाख रुपैयाँका दरले कर्जाको किस्ता भुक्तानी गर्नुपर्ने तोकिएको छ । यस हिसाबले वर्षमा दुई लाख रुपैयाँ ऋण भुक्तानी गर्नुपर्छ।

बैंकलाई मासिक रूपमा नौ प्रतिशत ब्याज तिर्नुपर्छ। तर त्यसको ६ प्रतिशत भने बैंकले तीन/तीन महिनामा फिर्ता गर्ने बताइएको छ।

यसअघि गाउँमा वाणिज्य बैंकहरुसँगको वित्तीय पहुँच नहुँदा स्थानीय जनता ‘घ’ वर्गका लघुवित्त तथा सहकारीहरुबाट १८ प्रतिशतसम्म महँगो ब्याजदरमा ऋण लिन बाध्य थिए। धितोमा आधारित यस्तो महँगो कर्जाले ग्रामीण उद्यमशीलता तथा सीप विकासको बाटो असम्भवजस्तै बनाएको थियो। त्यस्तो चर्को ऋण तिर्न नसकेर धेरैले घर–खेत नै बेच्नुपर्ने अवस्था समेत आएका उदाहरण थुप्रै छन्।

यो अवस्थाबीच अहिले ३ प्रतिशत ब्याजदरमै ‘क’ वर्गका बैंकबाट व्यसाय गर्न ऋण पाइने र त्यसका लागि आवश्यक सीप विकासमा अन्य विभिन्न संस्थाहरुले पनि सहयोग पुर्‍याउन थालेपछि सिन्धुपाल्चोकका स्थानीयहरु स्व-रोजगारमूलक उद्यमतर्फ उत्साहित भएका विद्युत सहकारीका सचिव श्रेष्ठ बताउँछन्।

उद्यमसिलता प्रवर्द्धनमा स्थानीय तहको पनि हातेमालो
पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा महिला उद्यम विकास कार्यक्रमका लागि गाउँपालिकाबाट गर्ने सबै सहयोग फास्ट ट्र्याकमा गरेको बताउँछन्।

गाउँपालिकाले महिला उद्यम विकासका लागि सबैपक्षसँग रचनात्मक समन्वय गर्दै सबै खाले सहयोग समयमै गरेकाले सिन्धुपाल्चोकका महिलाले सबैभन्दा पहिला काम सुरु गरेर प्रतिफल खान थालेको लामाले दाबी गरे।

त्यस्तै पाँचखाल नगरपालिकाले पनि विद्युतीय चुल्हो अभियानमा स्थानीयतहबाट पूर्ण साथ र सहयोग गरेको नगरपालिकाकी उपप्रमुख लक्ष्मी दनुवारले बताइन्।

विद्युत उपभोग गर्ने सबै सहकारीका सदस्य हुने र १० देखि २० प्रतिशत सम्म लगानी पनि हुने भएकाले सामुदायिक तर्फका ग्राहकहरु संस्थाप्रति र संस्था सदस्यप्रति जवाफदेही हुन्छन्। यस्ता सामुदायिक सहकारीको कार्यसमितिमा अनिवार्य रुपमा ३३ प्रतिशत महिला, आदिबासी, जनजाती, दलित, सिमान्तकृत सबैबाट अनिवार्य प्रतिनिधित्व गरिएको हुन्छ।

गाउँमा सबै सहकारीका सदस्य हुने हुँदा संचालक समिति वा कार्यसमितिका सदस्यको सबै साधारण सदस्यसँग दोहोरो पहुँच हुन्छ। यसले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँने महाँसंघ अध्यक्ष ज्ञावली बताउँछन्।

त्यसैलेपनि अन्य माध्यमबाट वितरण गरिएको स्वच्छ ऊर्जा उपभोग गर्ने ग्राहक भन्दा सामुदायिक विद्युत उपभोग गर्ने ग्राहकहरु बढी खुसी पाइएको प्राक्टिकल एक्सनले हरित तथा समावेशी ऊर्जा कार्यक्रम अन्तर्गत गरेको एक अध्ययनले समेत देखाएको छ।

उक्त अध्ययनले सामुदायिक सहभागीता, पारदर्शीता, उत्तरदायीत्व, प्रतिक्रिया तथा गुनासो व्यवस्थापन प्रणाली र लैङ्गिक समानता र सामाजिक समावेशीकरणका सवालमा ग्रामिण सामुदायिक विद्युत सहकारी संस्थाहरुको भूमिका उल्लेख्य रुपमा राम्रो पाइएको निष्कर्श निकालेको थियो।
साभार : बिजमाण्डू

Facebook Comments