ऊर्जाले ल्याएको परिवर्तन

मुसिन चल्न्या पावर हट्टो बिजुलीका तार 
ऊर्जा प्रयोग हर्न जान्या हुन्छ, चमत्कार ।

मेसिन चल्ने पावर हिड्छ बिजुलीका तार
उर्जा प्रयोग गर्न सके हुन्छ चमत्कार ।

काठमाडौ, असोज ४ (हाकाहाकी) – अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनका पाँच जना युवायुवतीको समूहले पाउरोटी उद्योग सञ्चालन गरिरहनु भएको छ । नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनबाट उपलब्ध विद्युतको भरपुर उपयोग गर्दै उहाँहरु पाउरोटी उद्योगबाट राम्रो आम्दानी गर्न पनि सफल हुनु भएको छ । २० देखि २५ वर्ष उमेर समूहका दुई युवा र तीन युवती मिलेर गाउँमै जयगढ पाउरोटी उद्योग सञ्चालन गर्नु भएको छ । उहाँहरुले वि.सं.२०७६ सालको मंसिर महिनाबाट झण्डै ६ लाखको लागतमा उद्योग सञ्चालनमा ल्याउनु भएको हो । बान्नगढी जयगढ गाउँपालिका र वाक नेपाल अछामको ४०/४० प्रतिशत तथा युवा समूहको २० प्रतिशत लगानीमा उद्योग सञ्चालनमा ल्याउनु भएको हो ।

पहिले गाउँमा फुर्सदको बेला खाली बस्नु पथ्र्यो, अहिले व्यस्तता बढेको छ, पैसा पनि आइरहेको छ, समूहकी सदस्य हिमकला तिमिल्सिनाले भन्नुभयो । उहाँले १० महिनाको अवधिमा मात्रै आफूहरुले १ लाख २० हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको बताउनु भयो । उद्योगमा पाउरोटी, डुनट, कप केक, बर्थडे केक लगायत बेकरीका बाह् वटा परिकारहरु तयार गरिन्छ । उत्पादित परिकारहरु मंगलसेन, जयगढ बजार, बयलपाटा र साँफेबगरका पसलहरुमा बिक्री हुने गरेको छ । तर कोरोना भाइरसको संक्रमणका कारण पहिले जस्तो उत्पादन बिक्री हुन नसकेको तिमिल्सिनाले बताउनु भयो । उहाँले भन्नुभयो, पहिले धेरै राम्रो बिक्री भइरहेको थियो । बिचमा देशभर लकडाउन हुँदा पसलहरु पनि बन्द भए । पसल बन्द हुँदा हाम्रो उत्पादन बिक्री हुनै मुश्किल भयो । यस्तै कहिलेकाहीं विद्युत अवरुद्ध हुँदा आफुहरुको उत्पादन खेर जाने अवस्थामा पुग्ने जोखिम रहेकोले विद्युतको नियमित आपूर्ति भए सहज हुने तिमिल्सिनाको भनाई छ । उहाँले सेवा प्रदायक निकायले विद्युतको गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताउनु भयो । विद्युत आपूर्ति भरपर्दो भए गाउँमा ऊर्जाबाट चल्ने साना उद्योग चलाएरै भए बढ्दो बेरोजगारी कम गरी राम्रो आम्दानी गर्न सकिने उहाँ बताउनु हुन्छ ।

विद्युत भएर पनि नभएको परिवर्तन

अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बेल्पाटामा विद्युत पुगेको १५ वर्ष पूरा भयो । गाउँमा बिजुली पुगेको यतिका वर्ष भइसक्दा समेत स्थानीयले यसबाट खासै फाइदा भने लिन सकेका छैनन् । स्थानीयले काँधमा विद्युतका पोल बोकेर बडो दुःख गर्दै गाउँसम्म पुगेको ऊर्जालाई उत्पादनमुखी बनाई आम्दानी गर्ने खालका क्रियाकलाप सञ्चालन भएका छैनन् । स्थानीय ८० वर्षीय प्रसादे थापाले बिजुलीबाट धेरै काम गर्न सकिन्छ भन्ने कुरा सुन्नु भएको छ । उहाँ भन्नुहुन्छ “बिजुलीबाट चल्ने मोटरले गहिरो ठाउँको पानी डाडासम्म लिएर खेतीबाली सिँचाइ गर्न र खानेपानीका लागि पनि प्रयोग गर्नु हुन्छ भन्दा त सुन्याको छिया (सुनेको थिए) । हाम्रा गाउँ त मेघ नआयापछि पानी नलाग्न्या खेतगडा पन चारिदाइन, तलुँदो खोलो बग्यापन मुथि खेतगडा बाजाई रदाछन । ” (मेसिनबाट पानी चलाएर सिँचाइ र खानेपानीको व्यवस्था गर्न सकिन्छ भन्ने कुरा सुनेको त थिए तर आकाशे पानी नपरेपछि तल खोलामा पानी भए पनि माथितिरका खेतबारी बाँझै राख्नु पर्ने बाध्यता छ )।

उहाँले भन्नुभयो “गाउँणो बत्ती आयाको झिक्कै बस्स भैगया, पिठ्यूँदाका भारी पिठ्यूँदाइ रैगया, गाउणो धान कुट्न्या मिल पन आछिन” । (अर्थात् गाउँमा बिजुली भएर पनि धान कुट्नलाई समेत मिल छैन, पिठ्यूमा भारी बोक्ने काम पनि कम भएको छैन) । उपलब्ध विद्युत बत्ती बाल्न, मोबाइल चार्ज गर्न र टिभी हेर्नमै सीमित छ । यसले स्थानीयको सूचना र सञ्चारमा भने पहुँच बढाएको छ । बिजुलीको आगमनले दियालोको उज्यालोमा बस्नु पर्ने बाध्यता हटेको छ । टुकी, लाल्टिन बालेर किताब पढ्नु पर्ने समस्याबाट विद्यार्थीहरुले छुट्कारा पाएका छन । बिजुलीबाट प्राप्त उज्यालोबाट राति अबेरसम्म काम गर्न सक्ने पनि भएका छन ।

ऊर्जाको पहुँच गाउँसम्म पुगे पनि हालसम्म बेल्पाटामा विद्युतबाट चल्ने मिल समेत छैन । न त कुनै घरेलु तथा साना उद्योगधन्दा नै सञ्चालनमा छन । बिजुली भएर पनि गाउँमा एउटा मिल समेत नहुँदा पिसानी गर्नका लागि अझै पानी घट्ट धाउनु पर्ने बाध्यता छ । कुटानीका लागि पुस्तौंदेखि चल्दै आएका ओखलमा कडा परिश्रम गरेर बिहानको उज्यालो नहुँदै अनि साँझ अबेरसम्म धान कुट्नै पर्छ । गाउँ नजिक मिल नहुँदा कुटानी पिसानीका लागि मिलसम्म जानु परे पनि पिठ्यूमा धान र गहुँको भारी बोक्दै झण्डै १ घण्टा पैदल हिँडेर बेल्पाटा भन्दा टाढाको गाउँ गाज्रा र जयगढ बजारसम्म पुग्नुपर्छ ।
गाउँका सबै घरधुरीमा परम्परागत चुलोमै खाना पाक्छ । घरभित्रको धुवाँ प्रदुषणले स्वास्थ्यमा पार्ने असर बारे स्थानीय बासिन्दा अझै पनि बेखबर छन । महिलाहरुले घण्टौं लगाएर पिठ्यूमा दाउराको भारी बोक्नु पर्ने बाध्यता छँदैछ ।

गाउँसम्म पुगेको ऊर्जालाई प्रविधिमैत्री ढंगले सदुपयोग गर्न नसक्दा महिलाहरुको शारीरिक श्रम पटक्कै घटेको छैन । उनीहरुको दैनिकीमा खासै परिवर्तन पनि हुन सकेको छैन । न त यहाँका महिलाहरुले अन्य आयआर्जनका गतिविधिमा जोडिने अवसर नै पाएका छन । धुवाँमा खाना पकाउन, घाँस, दाउरा काट्न, ओखलमा धान कुट्न, पानी बोक्न र पिसानी गर्ने पानी घट्टमै धेरैजसो महिलाहरुको दैनिकी बित्छ ।

वि.सं.२०६२ सालमा बेल्पाटामा पहिलो पटक नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको थियो । गाउँमा विगत डेढ दशकदेखि निरन्तर बिजुली चम्किरहेको भएता पनि स्थानीयको जीवन भने अझै अध्याँरो छ । स्थानीयको जीवन चम्किन बाँकी नै छ ।

ऊर्जाको पहुँचले मानव जीवन थप सरल, समृद्ध र सुखी बन्छ । ऊर्जाको उपयोग गर्दै विभिन्न आयमूलक कामहरु गाउँमै सञ्चालन गर्न सकिन्छ । बेल्पाटामा भने विद्युत उपयोग गर्दै जीविकोपार्जनमा थप सहयोग पुग्ने जस्ता गतिविधि अझै शुरु भएका छैनन् । स्थानीय बसन्त तिरुवाका अनुसार विद्युत उपयोग गरेर कसरी लाभ लिने भन्ने बारे आमसर्वसाधारण नै अनभिज्ञ छन ।

ऊर्जाको सहयोगले धेरै काम गर्न सकिँदो रहेछ । उहाँले भन्नुभयो हाम्रो गाउँको बिजुली, बत्ती बाल्नमा मात्रै सीमित छ । उहाँका अनुसार सामान्यतयाः एउटा घरबाट मासिक १ शय रुपैयाँ बराबरको विद्युत खपत हुन्छ । तिरुवाले गाउँमा ऊर्जाको अधिकतम प्रयोग गर्दै कसरी जीवन सहज र आर्थिक उन्नति गर्ने भन्ने बारे कुनै योजना नभएको बताउनु भयो । गाउँ घरमा केही गरेर नयाँ नयाँ अवसरको खोजी गर्दै आम्दानी बढाउने किसिमका अभ्यासहरुको शुरुवात भई नसकेको स्थानीय राकेश थापाले बताउनु भयो ।

आर्थिक अभावमा स्थानीयले गाउँमा लगानी गर्न सक्ने अवस्था नरहेको बान्नगढी जयगढ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कुलबहादुर सेटी बताउनु हुन्छ । वडा अध्यक्ष सेटीले आगामी दिनमा ऊर्जाबाट स्थानीयको जीविकोपार्जनमा टेवा पुग्ने खालका कार्यक्रम सञ्चालनमा पनि ध्यान दिने बताउनु भयो । गाउँमा रोजगारी नहुँदा बेल्पाटाका धेरैजसो युवाहरु भारत पस्नु बाहेक अर्को विकल्प छैन, अब स्थानीय सरकारले पनि गाउँमै स्वरोजगारमूलक कार्यक्रमको प्रवद्र्धन गर्न स्थानीय सरकारले समेत ढिलाई गर्न हुँदैन उहाँले भन्नुभयो ।

गाउँपालिकाको आधा भन्दा धेरै जनसंख्या भारतमा

बान्नीगढी जयगगढ गाउँपालिकाको कूल जनसंख्या २१ हजार ६ शय २९ छ । तर गाउँपालिकाको आधा भन्दा धेरै जनसंख्या भने बाहिर छ । उनीहरु मध्ये १३ हजार २२ जना भारतमा छन । गाउँमा रोजगारी नहुँदा यति धेरै संख्यामा स्थानीय बासिन्दा भारतमा नोकरी गर्न पुगेका हुन् । अन्य २ शय ३ जना पनि रोजगारीका लागि मलेसिया, साउदी अरब, जापान लगायत तेस्रो मुलुकमा छन ।


स्थानीय सरकारको ध्यान ऊर्जाको बहु–उपयोगमा छैन

नेपाल विद्युत प्राधिकरण अछामका अनुसार हालसम्म जिल्लामा जम्मा घरधुरीको २१ प्रतिशत घरधुरीमा मात्रै राष्ट्रिय प्रसारण लाइनबाट विद्युतको पहुँच पुगेको छ । अझै ७९ प्रतिशत घरधुरी राष्ट्रिय प्रसारण लाइनको विद्युत पहुँच भन्दा बाहिर छन । १० वटा स्थानीय तह रहेको अछाम जिल्लामा हालसम्म कुनै पनि गाउँपालिका तथा नगरपालिकामा पूर्ण रुपमा विद्युतीकरण हुन सकेको छैन ।

स्थानीय तहमा ऊर्जा कार्यक्रमको विस्तार र पहुँच बढाउन ऊर्जा इकाई र ऊर्जा उप–समितिको गठन गर्नुपर्छ । तर अछाम जिल्लाका धेरैजसो स्थानीय तहमा ऊर्जा इकाई र उपसमिति गठन भएका छैनन् । त्यति मात्र नभई अछामका स्थानीय तहहरुसँग ऊर्जा पहुँचको अद्यावधिक तथ्याङ्क समेत छैन । धेरैजसो पालिकाहरुमा आधारभूत सञ्चार सुविधा जस्तैः इन्टरनेट, फ्याक्स, टेलिफोन आदि रहेका छन् । तर ऊर्जा सम्बन्धी आवश्यक सूचना आदानप्रदानमा यसको प्रयोग थोरै मात्र भएको छ । अछामका स्थानीय तहले ऊर्जा सम्बन्धी अनुदान, प्रविधिको उपलब्धता, ऊर्जाको उत्पादनमूलक प्रयोगबारे सर्वसाधारणलाई जानकारी समेत दिन सकेका छैनन । ऊर्जामा समान पहुँच पुर्याउन छुट्याउनु पर्ने बजेट समेत कटौती गरिएको छ । ऊर्जा प्रवद्र्धनका नाममा एक रुपैयाँ समेत बजेट छुट्याइएको पाइँदैन ।

बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोकबहादुर साउँदले आफ्नो गाउँपालिकाले ऊर्जालाई उत्पादनमुखी बनाउन ठोस योजना बनाउन नसकेको स्वीकार गर्नुभयो । साउँदले भन्नुभयो, हामीले मात्र होइन अछामका कुनै पनि स्थानीय तहले ऊर्जा उप–समिति नै गठन गरेका छैनन् । यहाँका धेरैजसो स्थानीय सरकारले ऊर्जामा लगानी गरेर पनि त्यसबाट खासै लाभ लिन नसकेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमा ऊर्जा प्रवद्र्धनका लागि बजेट नछुट्याइएको बताउनु भयो । उपाध्यक्ष साउँदले आगामी दिनमा आफुहरुले ऊर्जालाई उद्योगधन्दा र व्यवसायको प्रवद्र्धनमा उपयोग गरी स्थानीयको जीविकोपार्जनमा टेवा पुग्ने खालका योजनालाई प्राथमिकतामा राख्न ध्यान दिने बताउनु भयो । उहाँले भन्नुभयो “कोरोना भाइरसको संक्रमणका कारण काम गर्ने उमेर समूहका युवाहरु प्नि बेरोजगार हुदा उनीहरुको आर्थिक अवस्था झनै नाजुक बन्दै गएकोले हामीहरु कृषिका माध्यमद्धारा यस्ता समस्याको समाधान गर्नेतर्फ लागि रहेका छौं । ”

तिमिल्सैनका युवायुवतीको समूहले गाउँमै पाउरोटी उद्योग चलाएर राम्रो आम्दानी गर्न सफल हुँदा अझै पनि गाउँपालिकाका धेरैजसो युवाहरु भने मजदुरी गर्न भारत पस्ने गरेका छन । समूहले उद्योग राम्रो चलेको बेला मासिक २ लाख बराबरको कारोबार गर्न सक्षम भएको थियो । त्यसबेला थ्रिफेज विद्युत लाइनबाट २ शय ५० युनिट विद्युत खपत गरे बापत ८ हजार रुपैयाँ महशुल तिर्नु परेको थियो । समूहले ऊर्जा स्रोतको उपयोगबाट गाउँमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । चेतना, शिक्षा र पुँजीको अभावमा बान्नीगढी जयगढ गाउँपालिकाका युवाहरु मजदुरी गर्न भारत जानुपर्ने बाध्यता छ । बेल्पाटाका रामबहादुर साउँदले गाउँमा मिल चलाउने १० वर्ष अगाडिको योजना भए पनि उहाँको त्यो सपना अझै पुरा भएको छैन । उहाँले गाउँमा लगानी गरेर कतै डुब्ने पो हो की भन्ने पिरले आँट गर्न नसकेर धेरैजसो समय भारतमै बिताएको बताउनु भयो । साउँदले बल्लतल्ल मिल चलाउनका लागि घर भने तयार गरेका छन । गाउँमै मिल चलाएर आम्दानी गर्न सकिन्छ की भन्ने लागेर मिल सञ्चालनको तयारीमा लागेको उहाँको भनाई छ । घरमा पुरुष भए काम गर्न बम्बै (भारत) जाने यहाँको पुरानै चलन हो । महिलाहरुले घरको चुलोचौकामा मात्रै सीमित राख्ने परम्परालाई तिमिल्सैनका युवतीहरुले भने गलत सावित गरी दिएका छन ।

प्राक्टिकल एक्सनका प्रोजेक्ट मेनेजर मिनविक्रम मल्ल भन्नुहुन्छ “कृषि क्षेत्रलाई ऊर्जाको माध्यमद्धारा व्यवसायिक बनाउन सके छिटो आर्थिक उन्नति गर्न सकिन्छ । गाउँमा भएको बेरोजगारी दर पनि कम गर्न सहयोग पुग्छ । सिँचाइको अभावमा कतिपय ठाउँमा ऊर्वर खेतीबारी पनि बाँझै राख्नुपर्ने बाध्यता छ । तर त्यस्ता ठाउँमा ऊर्जाको सहायताले प्रविधिमैत्री कृषि गतिविधि गर्न सकिने योजनाहरु कार्यान्वयन गरिनुपर्छ, मल्ले भन्नुभयो । उहाँले कृषिलाई आधुनिकीकरण गरी उत्पादन बढाएर व्यापार घाटा कम गर्दै गाउँमै स्थानीयलाई आत्मनिर्भर बनाउनका लागि स्थानीय, प्रादेशिक र संघीय सरकारले किसान तथा लक्षित वर्गलाई मूलधारमा ल्याउनु पर्नेमा जोड दिनुभयो ।

Facebook Comments