नदी किनारमै डम्पिङ साइट, नारायणीमा देखिन छाडे डल्फिन

भरतपुर महानगरले वर्षौदेखि बजारको फोहर नारायणी नदी किनारमा बिर्सजन गर्दै आएको छ । जसका कारणले नदीको पानी प्रदुषित हुँदा जलचर लगायतका जिवहरुलाई असर हुने गर्दछ ।

रमेशकुमार पौडेल, चितवन । चितवन निकुञ्जको जंगल र नदी विश्वका दुर्लभ वन्यजन्तु र जलचरको बासस्थल हो । यहाँको जंगलमा पाइने एकसिंगे गैंडा र पाटे बाघको संरक्षणमा धेरैको चासो र चिन्ता छ । निकुञ्ज हुँदै बग्ने खोला र नदीमा दुर्लभ घडियाल गोही कम हुँदै जाँदा जोगाउने प्रयास पनि बढेको छ । माछा जस्तै देखिने तर निकै सुन्दर र आकर्षक स्तनधारी जलचर डल्फिन नारायणी नदीमा कुनै बेला प्रशस्तै थिए । निकुञ्जको उत्तर पश्चिम सिमाना भएर बग्ने नारायणीमा अहिले डल्फिन बिरलै देखा पर्न थालेका छन् । डल्फिन किन देखिन छाडे ? यस बारेमा कमैको चासो छ । नारायणीमा डल्फिन हराउँदै गएको खबरसँग धेरैजना बेखबर छन् ।

नदी किनारमा अहिले मान्छेको चहल पहल बाक्लिएको छ । मान्छे बस्ने घर मात्रै हैन कल कारखाना पनि बढेका छन् । मान्छेले गर्ने फोहर ल्याएर फ्याक्ने डम्पिङ साइट नै नदी किनार भएको छ । भरतपुर महानगरपालिकाले दैनिक ८० टन फोहर नदी किनारमै लगेर मिल्क्याउँछ । कलकारखानाको फोहर पनि नदी मै जाने हो । निकुञ्जका अधिकारीहरु यस्ता कारणहरुले नारायणीमा डल्फिन हराउँदै गएको बताउँछन् । तर यस्ता गलत क्रियाकलापको प्रतिवाद गर्नेहरु पनि छैनन् । ‘सवैले बाघ गैंडा नै भन्छन् । नदीको हालत के भयो ? किन भयो भनेर ध्यान जान सकेको छैन’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने ।

बाघ गैंडा जोगाउनका लागि भनेर नै चितवन निकुञ्जको स्थापना भएको हो । विस २०३० सालमा निकुञ्ज स्थापना हुँदा सुरुवातदेखि नै रामपृत यादव यसमा संलग्न थिए । उनले चितवन निकुञ्जमा लामो समय बिताए । सरकारी सेवाबाट अवकास पाउनुअघि उनी चितवन निकुञ्जको प्रमुख संरक्षण अधिकृत पनि भए । बाघ गैंडा मात्रै हैन नदी र खोलाका जलचरहरु पनि जोगाउनु पर्दछ भन्ने मान्यता निकुञ्जले सुरुदेखि नै लिएको उनले बताए । विश्वमा निकै संकटमा परेको घडियाल गोही जोगाउन चितवन निकुञ्जमा गोही प्रजनन् केन्द्र नै सञ्चालन भयो । विस २०३५ सालमा केन्द्र स्थापना भएको थियो ।

नदी किनारका रुख र पोथ्राहरुमा अड्कोको भेलाले बगाएर ल्याएको फोहर र प्लाष्टिकहरु ।

प्राकृतिक बासस्थलमा घडियालका बच्चा हुर्कने सम्भावना निकै कम हुन्छ । त्यसैले नदी र खोला किनारको बालुवामा घडियालले पारेका अण्डा संकलन गरेर प्रजनन् केन्द्रमा बच्चा कोरल्ने र हुर्काउने काम हुन थाल्यो । घडियाल गोहीका अण्डा संकलन गर्न हिँड्दा रामपृत यादवले एक हैन धेरै ठाउँमा डल्फिनको दर्शन पाउँथे । ‘३५/३६ सालबाट घडियालका अण्डा खोज्दै कालिगण्डकीदेखि त्रिवेणीसम्म डुलियो । नारायणीमा अमलटारी, पठौना, भेलौंजी गोलाघाट, खोरिया मुहान क्षेत्रमा डल्फिनहरु देखिन्थे’ यादवले भने । त्यो बेला अमलटारीमा ७/८ वटा र भेलौंजीमा ६ वटा जति डल्फिन देख्ने गरेको उनले बताए ।

नारायणी नदीमा मात्रै हैन ४४/४५ साल तिर उनले चितवन निकुञ्जको मुख्यालय कसरा नजिक राप्ती नदीमा पनि डल्फिन देखे । ‘त्यो बर्खाको समय थियो । भेल आउँदा डल्फिनहरु मुलधारबाट बगेर सहायक नदी र खोलामा पुग्छन् । त्यही भएर राप्तीमा आयो होला । एक पटक त कसरा आडैमा पनि डल्फिन देख्न पाइयो’ चितवन निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत यादवले भने । यादवले गर्ने जस्तो काम अहिले चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले गर्दछन् । घडियाल गोही प्रजनन् केन्द्रका प्रमुख रहेका खड्का गोहीका अण्डा संकलन गर्दै नदी र खोला किनारमा ओहर दोहर गर्दछन् ।

तर यादवले जस्तो खड्काले डल्फिन फिटिक्कै देखेका छैनन् । खड्का ६६ सालदेखि घडियालको अनुगमन र अण्डा संकलनमा सक्रिय छन् । ‘६६ सालमा मैले दुईवटा डल्फिन देखें । भेलौंजीमा देखेको हो । त्यसपछि केही वर्ष देखिएन । एकै पटक ७० सालमा पनि दुईवटा देखियो । ७५ सालमा एउटा सानो र दुईवटा ठुलो देखियो । ७६ सालमा एउटा मात्रै देखियो । गएको असारमा पनि दुईवटा देखियो । कहिले देखिन्छ, कहिले देखिन्न । अनि मैले भेलौंजीभन्दा अन्यत्र अझसम्म डल्फिन देखेको छैन’ खड्काले भने । डल्फिनका बारेमा पुर्व प्रमुख संरक्षण अधिकृत रामपृत यादवले सुनाउने जानकारी खड्कालाई कथा जस्तै लाग्न थालेको छ ।

डल्फिन हैन डम्पिङसाइट:

नदी क्षेत्रमा हप्ता दिन बिताउने खड्काले आक्कल झुक्कल मात्रै देख्न थालेको डल्फिन कुन दिनदेखि लोप हुने हो भन्ने खतरा बढेको छ । यसरी किन हराए त डल्फिन ? पुर्व प्रमुख संरक्षण अधिकृत रामपृत यादव भन्छन ‘यो घडियाल र डल्फिन सफा नदीमा बस्छन् । माछा खान्छन् । डल्फिन नहुनु भनेको नदीमा माछा कम भयो ।’

माछा कम भएपछि के खानु र डल्फिन बढ्नु ? भन्छन् यादव । नदीमा माछा घट्नुका अनेक कारणहरु छन् । माछा नदीमा आश्रित जिवहरुले मात्रै हैन मान्छेले पनि अत्याधिक खान थाल्यो । प्रदुषण अत्याधिक बढ्यो । पानी नै फोहर भएपछि आहारा नै कम भएपछि त्यसको सिधा असर अहिले घडियालसँगै माछाको ठुलो प्रजाति डल्फिनमा पनि परेको हो भन्छन् यादव । यादवले भने जस्तै पर्यावरणीय दृष्टीले निकै महत्वपुर्ण नारायणी नदी अहिले प्रदुषणको चपेटामा परेको छ । बजारको फोहर मिल्काउने ‘उपयुक्त’ स्थान बनेको छ ।

नदीमा भेल आउँदा किनारका रुख बिरुवा र पोथ्रा तथा अक्करहरुमा प्लाष्टिकै प्लाष्टिक र अन्य फोहर प्रशस्तै अड्केको देख्दा नै नारायणीले कति फोहर बोकेको छ भनेर अन्दाज लगाउन सकिन्छ । नारायणी र यसका सहायक नदीहरुको बाटोमा अनेकौं बजार क्षेत्र छन् । भरतपुर नारायणगढ सहर पनि नारायणी किनारमै छ । हालसम्म व्यवस्थित ल्याण्डफिल साइट नभएको भरतपुरले वर्षौदेखि फोहर लगेर नारायणी नदी किनारमै फाल्ने गर्दछ । भरतपुर महानगरले दशकभन्दा लामो समयदेखि गरेको यो कामको कसैले खबरदारी गर्दैन ।

भरतपुर महानगरपालिकाका वातावरण शाखाका प्रमुख इन्जिनियर विराट घिमिरेका अनुसार महानगरभित्र दैनिक ७०/८० टन फोहर संकलन हुन्छ । सवै फोहर नदी किनारमा थुपार्ने र पुर्ने उनले बताए । तत्कालिन भरतपुर नगरपालिका हु“दा नै बजारको फोहर नदी किनारमा थुपार्ने र पुर्न थालिएको हो । कुनै बेला बजारको फोहर जलदेवि सामुदायिक वनभित्र लगेर थुपार्ने गरिन्थ्यो । जैविक महत्वको वनमा फोहर फालेको भनेर तत्कालिन पुनरावेदन अदालत हेटौंडाले रोक लगायो । वनमा फोहर फाल्न नपाएपछि १५ वर्षयता नदी किनार नै प्रयोग हु“दै आएको छ । तर बरण्डाभार वन जस्तै नारायणी नदी पनि जैविक विविधताको दृष्टीले संवेदनशिल र महत्वपुर्ण क्षेत्र भएको ख्याल कसैले राखेको छैन ।

जलदेवि वनमा अव्यवस्थित रुपमा फोहर फाल्न अदालतले रोक लगाएपछि त्यही ठाउ“मा व्यस्थित ल्याण्डफिल साइट बनाउन नेपाल सरकारले निर्णय गरेर नै तत्कालिन भरतपुर नगरपालिकालाई जग्गा दिएको छ । नगरपालिकाले ६८ सालमा सरकारबाट वनको १५ विघा जमिन पाएको हो । वनले दिएको जग्गाको सट्टा भर्ना दिनका लागि भरतपुरले माडीमा १५ विघा जग्गा किनेको पनि पाँच वर्षभन्दा धेरै हुन थाल्यो । तर ल्याण्डफिल साइट बन्ने सुरसार छैन । बिना अवरोध र बिरोध नदी किनारमा असरल्ल फोहर फाल्न पाएका कारण व्यवस्थित ल्याण्डफिल साइट निर्माणमा महानगरले ध्यान दिने जा“गर चलाएको छैन ।

भरतपुर महानगरपालिकाले फोहर व्यवस्थापनको गुरुयोजना बनाउन कोरियाको सुडोकोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पोरेशनस“ग ७५ सालको भदौमा समझदारी गरेको थियो । समझदारी भएको १५ महिनाभित्र गुरुयोजना तयार हुने र त्यसपछि ल्याण्डफिल साइट निर्माणले गति लिने भनिएको थियो । वातावरण शाखा प्रमुख विराट घिमिरे गुरुयोजनाको काम अझै बाँकी रहेको बताउँछन् । गुरुयोजना बन्न अझै तीन चार महिना लाग्छ । समझदारी अनुसार गत वर्षको मंसिरमा नै गुरुयोजना तयार हुनु पर्दथ्यो । तर अहिलेसम्म गुरुयोजनाको काम नै पुरा नहु“दा ल्याण्डफिल साइट कहिले बन्ने र नदीले बजारवासीको फोहरबाट छुटकारा पाउने हो ठेगान छैन ।

बजारको फोहर मात्रै हैन नदी किनारमा दर्जनौं साना ठुला उद्योगहरु छन् । ‘नदी किनारमा उद्योग हुनु नै आफैमा समस्या हैन । तर उद्योगहरुले फोहरको बिर्सजन के कसरी गरेका छन् त्यो मुख्य कुरा हो । नारायणी नदी किनारमा ठुला ठुला बहुराष्ट्रिय कम्पनीहरु प्नि छन् । तर फोहर बिर्सजनमा उनीहरु नियमसँगत तरिकाले चलेको देखिदैन । नदीको स्वच्छपनमा यस्ले पनि संकट पु¥याएको छ । जलचरहरु यी कारणले पनि संकटमा परेका हुन्’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने ।

नदी क्षेत्रमा बन्ने बाँधले पनि जलचरहरु संकटमा परेको पुर्व प्रमुख संरक्षण अधिकृत रामपृत यादव बताउँछन् । नारायणी नदीको तल्लो क्षेत्र त्रिवेणीमा भारत नेपाल सिमानामा ठुलो बाध बाँधेर नहर लगिएको छ । वर्षायाममा बाँध खुला हुँदा माछा, डल्फिन र घडियाल बगेर तल पुग्छन् । पछि बाँध बन्द हुन्छ । उनीहरु फर्केर पुरानो बासस्थल क्षेत्रमा उक्लन सक्दैन भन्छन यादव । नारायणीमा छाडेको घडियाल बग्दै ११ सय किलो मिटर पर पश्चिम बंगलका नदीहरुमा पुगेको पत्ता लागेको छ । डल्फिनको हकमा पनि यस्तो भएको हुन सक्ने यादव बताउँछन् । त्यसैले नारायणीमा डल्फिन घट्दै निकै न्युन संख्यामा सिमित भएको छ । ‘यस्तै वेवास्ता र लापर्वाही भए के थाहा कुनै दिन यहाँबाट हराएरै जाने पो हो कि ? यादवले निरास हुँदै प्रश्न राखे ।

Facebook Comments