भजनी बासीको पीडा : ‘अब त बर्खे धान रोपेको पनि धेरै भयो’

कैलाली, १३ असोज । बादल मदारिन साथ भजनी नगरपालिकाका किसानहरु त्रसित बन्छन् । भजनी क्षेत्र बाढीको उच्च जोखिममा छ । भजनी नगरपालिका १ की ३० वर्षीया रशिला चौधरी २०६४ सालको बाढीपछि हरेक त्यही पीडा भोग्दै आएकी छिन् ।

उनले ०६४ सालपछि असारमा रोपेको धान कहिलै भित्रित्याउन पाएकी छैनन् । यो वर्ष अहिलेसम्म ठूलो बाढी नआएको कारण बाली भित्रियाउने आशा भने मरेको छैन । तर भजनीवासीलाई भने मौसमको कुनै भर लाग्दैन कति खेर के हुन्छ, यो क्षेत्रमा कुनै वर्ष असोजमा पनि बाढी आइरहेको हुन्छ ।

रशिला भन्छिन् ‘कुनै वर्ष साउन भदौंमै ठूलो बाढी आईदिन्छ त कुनै वर्ष असोज कात्तिकमा गत वर्ष भदौंमा ठूलो बाढी आयो । रोपेको धान बगाएर लग्यो । बाढीको कारण हरेक वर्ष घर मर्मत गर्नुपर्छ । लिपपोत गरेको घर, बाढी आएर भत्काईदिन्छ, बाँकी काम ठाँती राखेर भए पनि पुनः घर बनाउनुपर्छ ।’

विवाहपछि तीनवर्ष मात्रै श्रीमान अर्जुनसँग बस्न पाएकी रशिला श्रीमानले अर्को विवाह गरेपछि एक्लै छुट्टिएर बसेकी छिन् । उनी २०७२ सालदेखि नै अंशसहितको सम्बन्ध विच्छेदको मुद्धा लडिरहेकी छिन् तर फैसलाहुन सकेको छैन । गाउँमा बाढी पस्दा उनी निकै आत्तिन्छिन् । एक्लै मान्छे आफ्नो ज्यान जोगाउने कि, सरसमान जोगाउने भन्ने चिन्ता हुन्छ ।

यस्तै पीडा सुनाउछिन् भजनीकी ३१ वर्षीया शोभा चौधरी । उनको श्रीमान रामप्रसाद चौधरी रोजगारको क्रममा ७ वर्षदेखि भारतमै छन् । शोभा भन्छिन् ‘खेत नभएको पनि होइन, तर बाढीले गर्दा खेतमा फलेको अन्न कहिलै भित्रियाउन पाउँदैनौं । गतवर्ष त एक गेडो पनि भित्रियाएनौं ।’

पछिल्लो समय बाढीले बर्खे धान नजोगिने भएपछि भजनी क्षेत्रका स्थानीयहरु चैते धान रोप्ने गर्दछन् । तर यो वर्ष छिट्टै पानी परेर चैते धान पनि भित्रियाउन नपाएको पीडा शोभाले सुनाइन् ।

उनले भनिन् ‘धान पाक्ने समयमा लगातार पानी परेर असार महिनामै ठूलो बाढी आयो । भिजेको धान अलिअलि जोगाउन सकियो ।’ घरमा पानी पस्दा अन्न जोगाउने, बच्चा स्याहार्ने, लुगालत्ता जोगाउने गाईबस्तुलगायतको कामले ठूलो झन्झत खेप्नुपरेको पीडा सुनाइन् ।

भजनी नगरपालिका–९ खुरह्रिया टोलका स्थानीय सीतारामखचौधरीको गत साउन १४ गतेको बाढीले घर र खेत पुरै डुबानमा प¥र्यो । भत्किन लागेको २ कोठे कच्ची घर थामथुम पारेर परिवारसहित ओट लाग्न बाध्य भएको सुनाउँछन् ।

घरसँगै रहेको १५ कठ्ठा धानखेत फुटबल मैदान जस्तै सफाभएको थियो । लहलहाउँदो भई बाला पोसाउने बेलामा उनको धानखेत बाढीले पूरै रित्तिएपछि भोकभरी हुने चिन्ता व्यक्त गरे ।

उनले भने, ‘मेरो त साबथोक यहि खेत थियो, केही बाँकी रहेन । अब के गर्ने ? के खाने ? समझमै आउँदैन ।’ ज्यालामजदुरी गरि परिवारको खानाको जोहो हुँदैआएको छ । खेत रित्तिएपछि उनको परिवारमा भोकमरीको त्रास छाएको सुनाउँछन् ।

‘असारमा साहु महाजनसँग ऋण सापती गरेर त खेतीलगायौ । अब त्यहीखेती सकिएपछि कुन मुख लिएर साहु महाजन कहाँ जानु ? उनीहरु पनि फसल हेरेर ऋण लगानी गर्ने हुन् ।’

खुरह्रिया टोलका अर्का स्थानीय रामबहादुर चौधरीले बाढीले ज्यान जोगिए पनि खेतमा भएको धान सखाप भएको कहानी सुनाउँछन् । चैते धान पनि भित्रियाउन नपाउँदा अहिलेदेखि नै खाद्यन्न अभाव शुरु भएको दुखेसो सुनाए ।

भजनी नगरपालिका क्षेत्रमा विगत ६ वर्षको पानीको तथ्यांक हेर्ने हो भने जतिबेला पानी पर्नेुपर्ने हो, त्यो समयमा पानी पदैन र नपर्ने समयमा पानी परेर उक्त क्षेत्रका स्थानीय वर्षेबाली भित्रियाउनबाट सधै बञ्चित भईरहेका छन् ।

२०१५ देखि २०२० सम्म असोजसम्मको तथ्यांकले मा मात्रै क्रमशः ७८.५, १५०.०, १७८.५, १९९.०, १४६.९ र १४१.१ मि.लि. पानी परेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जानकारी दिएको छ । यस्तै भदौं ३७९.७, २३१.७, ६३८.४, ४४२.०, १६५.६ र ४८५.१ मि.लि. पानी परेको तथ्यांकले देखाएको छ ।

औसतमा हेर्ने हो भने असार र साउन महिनामा भजनी नगरपालिका क्षेत्र कम पानी परेको र भदौं असोजमा बढी पानी परेको तथ्यांकले देखाइएको छ । असार ३१६.१, २२९.७, ११०.७, १३३.४, ३४.०, ३३३.५ र साउन महिनामा ३३८.१, ७८३.०, ३६६.९, ५५५.८, २६२.० र ५९७ मिलि पानी परेको छ ।

गत साउन १४ गते आएको बाढीले जिल्लाको दक्षिणी क्षेत्रको आमजनताको आमपीडा हो । स्थानीय मोहना, कान्द्रा, पथरैया, काँढा, कर्णालीलगायत नदीमा बाढी आउँदा भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिकालगायत स्थानीयतहका साढे ६ हजार बढी घरधुरी प्रभावित भए। केही वर्षदेखि यो क्षेत्रका स्थानीयहरु लगातर बाढीको पीडा भोग्दै आएको भजनी नगरपालिका नगर प्रमुख शेरबहादुर चौधरी बताउँछन् ।

उनका अनुसार यो क्षेत्र तीनवटा नदीले घरिएकोको बस्ती हो । ढुंगा गिट्टी र बालुवा उत्खन्न तीब्र गतिमा छ । जुन कारण नदीको सतह एकदमै माथिआयो । खोलानाला अतिक्रमण र वनजंगल फँडानीले क्षणभरको बर्षातले नदी भरिने र बाढी गाउँमा पस्ने गरेको छ ।

नदी छेउछाउको गाउँ नदी कटानले गाउँ नै उठीबास हुने संकेट देखिएको बताउँदै नगर प्रमुख चौधरी भन्छन् ‘भजनी नगरपालिकालाई बाढीबाट जोगाउन जैविक तथा पक्की तटबन्धन गरिरहेको छौं । बाढी नदी छेउको जमिन बगरमा परिणत भएपछि लगभग ३५ विघा जमिनमा उखु खेती गर्न लगाएका छौ ।’

गतवर्ष मात्रै भजनीमा बाढीले ३ जनाको ज्यान गएको छ । हजारौं बाढी पीडितहरु विस्थापित हुन पुुगे । उनीहरु अझै डुबानको त्रासले घर फर्किन सकेका छैनन् । कोही हुलाकी राजमार्ग छेउछाउमा पाल टाँगेर बसेका छन् भने कोही मोहन्याल सामुदायिक वनमा सानो–सानो झुप्रा हालेर बस्न बाध्य छन् ।

भजनी नगरपालिका वडा नं. १, ३, ८, ७ र ५ मा वर्षेनि बाढीले वर्षे बाली बगाएर लाने गरेको वडा नं. १ का रविन थापाले बताए । उनले विगत सम्झदै भने ‘२० वर्ष अगाडि यहाँका नदी नाला एकदमै गहिरो थियो । हरियाली वनजंगल थियो तर अहिले नदीनालाको ढिकमा बस्ती बस्यो, नदी पुरै माथिआयो र जंगल पनि सखाप भयो जुन कारण बाढी आउँछ कि भन्ने अनुमान छ ।’

गत वर्ष भजनी नगरपालिका क्षेत्रमा मात्रै ४ हजार बिघा बढी क्षेत्रफलमा रोपिएको धानबाली पूर्ण रुपमा नष्ट भएको उनले जानकारी दिए। हप्तौंदिनसम्म डुबान कायमै रहँदा धानबालीमा ठूलो क्षति भएको हो । जुन कारण यो क्षेत्रका स्थानीय जनशक्ति रोजगारीको लागि भारत पलायन हुन बाध्य छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकारले अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने बताउँछिन् ।

भजनीका स्थानीय समेत रहेकी मन्त्री चौधरीले अल्पकालीन कार्यक्रमअन्तरगत राहत, त्रिपाललगायत सामग्री वितरण गरेको र दीर्घकालीन कार्यक्रमको रुपमा एकीकृत कृषि प्रणालीको व्यवस्था गर्ने बताइन् ।

‘हामी बर्खामा जानी–जानी बर्खे खेती किन गर्ने ? बर्खामा खाली छोडेर अरु सिजनमा खेती प्रणालीको व्यवस्थापनमा छौ । सहुलित दरमा कृषि यन्त्र उपकरण, बिउबिजन, सिँचाइको व्यवस्था गरी हिउँदे खेतीसँगै चैते धान, मकै खेती, उखु खेतीमा प्रोत्साहनका कार्यक्रम ल्याउने तयारीमा छौ ।’

तर वनक्षेत्रमै बासको व्यवस्थापन गर्ने उत्तम विकल्प नरहेको बताउँदै मन्त्री चौधरीले सरकारको जनताआवास कार्यक्रम बाढी प्रभावित क्षेत्रमा विस्तार गर्न सकिने एउटा विकल्प रहेको बताइन् ।

डुबानको समयमा गाउँ–गाउँमा सामूहिक बस्न सकिने उच्च घर अथवा सरकारबाट केही अनुदान प्रदान गरेर बाढी प्रभावित क्षेत्रका जनतालाई उच्च घर निर्माणको लागि प्रोत्साहनका कार्यक्रम ल्याउने तयारीमा रहेको मन्त्री चौधरीले बताइन् ।

साभार : केर्नी न्यूज

Facebook Comments